काठमाडौं– आज दिउँसो १ बजे प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ ।
बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक’ पारित गर्ने तयारी छ ।
गत बिहीबार साँढे पाँच घण्टासम्म दफावार छलफल सकाएर सांसदहरूले दिएका संशोधन प्रस्तावका आधारमा मन्त्रालय र समितिको सचिवालयले प्रतिवेदन तयार पारेको छ ।
विधेयकले भूमि ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र वन ऐन २०७६ मा संशोधन गर्ने प्रस्ताव राखेको छ ।
यसअघि समिति हदबन्दी छुटको जग्गा बेच्न दिन र भूमिहीन दलित, सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा दिन भाषा मिलाउनेमा सहमत भएको थियो ।
प्रदेशको क्षेत्राधिकार र संविधानको साझा सूचीका विषयमा भने मौन रहँदै विधेयक अघि बढाउने तयारी छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा भेटवार्ता गरेका छन् ।
नियमित भेटका क्रममा प्रधानमन्त्रीले राष्ट्रपतिलाई आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे जानकारी गराएको बुझिएको छ ।
भूमि विधेयक पारित पश्चात् प्रमाणिकरण गर्न आग्रह गर्नसक्ने स्रोत बताउँछ ।
यसअघि केही विधेयक राष्ट्रपतिले फिर्ता पठाएका थिए ।






















