काठमाडौं– बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिलाउन सत्ता साझेदार नेकपा (एमाले)ले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।
कांग्रेस–एमाले गठबन्धनको तर्फबाट साउन २० गते मुख्यमन्त्री बनेका बानियाँले साउन २७ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।
यसका लागि मंगलबार अपराह्न ४ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।
एमाले बागमती प्रदेशका प्रमुख सचेतक एकालाल श्रेष्ठले २७ जना एमाले सांसदलाई उक्त दिन अनिवार्य रूपमा उपस्थित रही बानियाँको पक्षमा मतदान गर्न निर्देशन दिएका छन् ।
उनले जारी गरेको पत्रमा भनिएको छ, ‘बागमती प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँको अनुरोधमा आउँदो २७ गते दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा उपस्थित भई विश्वासको मतको पक्षमा मत दिनुहुन अनुरोध गर्दछु ।’
११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ मत आवश्यक पर्छ ।
बानियाँको पार्टी नेपाली कांग्रेसका ३७ र एमालेका २७ सांसद मिलेर ६४ मत हुने देखिन्छ ।
तर, कांग्रेसभित्रकै आन्तरिक विवादका कारण १४ जना सांसदले विश्वासको मत नदिने चेतावनी दिँदा बानियाँको बहुमतमा संकट देखिएको छ ।






















