काठमाडौं– नेकपा (एकीकृत समाजवादी)भित्र अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीचको विवाद सतहमा आएको छ ।
दुवै नेताबीच एकआपसमा पार्टी छोड्नुपर्ने अभिव्यक्तिले विवाद सतहमा आएको हो ।
यसलाई मथ्थर गर्न पार्टीले ४ भदौमा स्थायी समिति, ५ भदौमा पोलिटब्युरो र ७–८ भदौमा केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
स्थायी समिति र पोलिटब्युरो बैठक आलोकनगरमा, केन्द्रीय कमिटी बैठक सुकेधारास्थित मिराकल पार्टी भेन्युमा हुनेछ ।
खनालले सचिवालयमा पेस गरेको ६ बुँदे प्रस्तावमा भ्रष्टाचार मुद्दा लागेको नेताले नेतृत्व छोड्नुपर्ने सुझाएको र त्यसबारे नेपालसँग प्रत्यक्ष जिज्ञासा राखेका छन् ।
भेटमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाललगायत सहभागी थिए ।
अनेरास्ववियू र युवा संघमा समानान्तर गतिविधि बढ्नु, विभाग गठन नहुनु र नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताबारे तल्ला कमिटीबाट राय लिने काममा नेतृत्वको भूमिका प्रति असन्तुष्टि देखिएको छ ।
अध्यक्ष नेपालसँग रामकुमारी झाँक्री र सांसद प्रेम आले पनि रुष्ट छन् ।
यता, खनाल र वामदेव गौतमले चार वर्षपछि डल्लुमा भेट गरी विगतदेखि भविष्यसम्मका विषयमा चार घण्टा छलफल गरेका छन् ।
गौतमले सामूहिक नेतृत्वको आवश्यकता र विवाद कमिटीभित्रै सुल्झाउनुपर्ने सुझाव दिएका छन् ।






















