images
images
  • एनसेलका सीईओ जाब्बोर कायुमोभको राजीनामा

    काठमाडौैं– नेपालकै अग्रणी दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभले पदबाट राजीनामा दिएका छन्। पारिवारिक कारण देखाउँदै उनले पद छोडेको कम्पनी निकट स्रोतले जनाएको छ। कायुमोभको नाम र विवरण कम्पनीको आधिकारिक वेबसाइटबाट हटाइसकिएको छ।

    एनसेलको सञ्चालक समितिले उनको राजीनामापछि प्रमुख वित्तीय अधिकृत (सीएफओ) सेद एमडी इनामुल कबिरलाई कार्यवाहक सीईओको जिम्मेवारी दिएको छ। कबिरलाई पाँच महिना अघि मात्र सीएफओका रूपमा कम्पनीमा भित्र्याइएको थियो।

    कायुमोभ २०८० साल वैशाख २६ गते एनसेल आजियाटा लिमिटेडको सीईओ तथा प्रबन्ध निर्देशकको रूपमा नियुक्त भएका थिए। उनको कार्यकालमा कम्पनीले नेटवर्क विस्तार, डिजिटल सेवा प्रवर्द्धन र बजारमा प्रतिस्पर्धात्मक हैसियत मजबुत बनाउन प्रयास गरेको मानिन्छ। यद्यपि, राजीनामाको औपचारिक कारण ‘पारिवारिक’ भए पनि यसलाई कम्पनीको भित्री व्यवस्थापकीय पुनर्संरचनासँग पनि जोडेर हेरिएको छ।

    नयाँ कार्यवाहक सीईओ कबिर बंगलादेशको यूसीबी फिनटेक कम्पनीमा डेपुटी सीईओ र सीएफओको रूपमा कार्यरत रहिसकेका छन्। त्यसअघि उनले टेलिनोर समूहअन्तर्गत बंगलादेशको ग्रामीणफोनमा अपरेसन विभागको नेतृत्व गरेका थिए। थाइल्यान्डको डीट्याक मोबाइल कम्पनीमा पनि उनी कार्यरत रहिसकेका छन्।

    उनको करिअरमा नेस्ले बंगलादेश लिमिटेड र केपीएमजी बंगलादेशमा वित्तीय र व्यवस्थापकीय अनुभव समेत समावेश छ। कबिरले बेलायतबाट चार्टर्ड एकाउन्टेन्सी अध्ययन पूरा गरेका छन् भने युनिभर्सिटी अफ एडिनबर्ग बिजनेस स्कुलबाट एमबीए गरेका छन्।

    दूरसञ्चार बजारमा हाल फाेरजी विस्तार, डिजिटल सेवा एकीकरण र प्रतिस्पर्धीको मूल्य नीति जस्ता चुनौतीबीच एनसेलको नेतृत्व परिवर्तन भएको हो। उद्योग विश्लेषकहरूका अनुसार, कबिरको वित्तीय तथा प्राविधिक पृष्ठभूमि कम्पनीको आगामी रणनीति निर्धारणमा निर्णायक हुन सक्छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images