images
images
  • पञ्चहरूको उल्टो प्रपञ्च : आफ्नै पार्टी राप्रपा फुटाउने तयारीमा राजेन्द्र र धवलशमशेर

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र गुटगत विवाद तीव्र बन्दै गएको छ ।

    अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणा पक्षबीच चर्किएको विवादपछि दुवै पक्ष छुट्टाछुट्टै रणनीति बनाउन सक्रिय देखिएका छन् ।

    बिहीबार लिङ्देन पक्षले बत्तीसपुतलीस्थित तपस होटलमा बैठक बोलाएको छ ।

    बैठकमा उनका निकटका सबै केन्द्रीय सदस्य र नेताहरूलाई बोलाइएको छ ।

    पार्टीभित्रको अन्तरविरोध, राणा समूहविरुद्धको रणनीति र आगामी महाधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ ।

    यसअघि पनि यही होटलमा लिङ्देन पक्षको बैठक बसेको थियो ।

    यता राणा पक्ष पनि छुट्टै सक्रिय छ । केही दिनअघि राणाको निवास र हात्तीसारस्थित नेपाल हाउसमा छलफल गरेका थिए ।

    ती बैठकहरूमा लिङ्देनका ’गलत’ गतिविधिविरुद्ध चुप नबस्ने निर्णयसमेत भएको थियो ।

    राणा पक्षीय नेता जनकराज पाठकले अध्यक्षकै निर्देशनमा गुटगत भेला हुनु राप्रपाको इतिहासमै नभएको बताए ।

    यसैबीच राणाले आइतबार लिङ्देनलाई पत्र लेख्दै हालको एकपक्षीय निर्णयप्रति असन्तुष्टि जनाएका थिए ।

    उनले स्थानीय तहको अधिवेशन प्रक्रियामा स्वेच्छाचारिता भएको आरोप लगाउँदै तत्काल केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाउन माग गरेका छन् ।

    तर, लिङ्देन पक्षले सोबारे कुनै औपचारिक छलफल गरेको छैन ।

    विवाद चुलिने क्रममा अध्यक्ष लिङ्देनले राणालाई संगठन विभाग प्रमुखबाट हटाएका थिए ।

    पछिल्लोपटक नवराज सुवेदीलाई अनुशासन समिति अध्यक्षबाट हटाइएको थियो। यो विवाद अहिले निर्वाचन आयोगसम्म पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images