images
images
  • एमाले नेतृत्वमा उमेरहद र कार्यकाल बहस पुनः सतहमा, बौद्धिक परिषद्को सक्रियता

    काठमाडौं– नेकपा (एमाले) भित्र पार्टी नेतृत्वमा ७० वर्षे उमेर सीमा र दुई कार्यकालको नीति लागू गर्नुपर्छ कि पर्दैन भन्ने विषयमा बौद्धिक परिषद्ले बहस सुरु गरेपछि पार्टीभित्र विवाद उत्पन्न भएको छ ।

    परिषद्ले १५ प्रश्नावली तयार गरी गुगल फर्ममार्फत सर्वेक्षण गरिरहेको छ ।

    यसले केन्द्रीय कमिटीको आकार, पदाधिकारी संरचना, पार्टी पुनःप्रवेश प्रक्रिया, उमेर सीमा र नेतृत्वकै कार्यकाल सीमासम्बन्धी विषयमा छलफल गरिरहेको छ ।

    प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यसलाई पार्टी अनुशासनविपरीत बताउँदै सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीले निर्णय गर्नुपर्ने विषय सार्वजनिक बहसमा उठाउनु अनुचित भएको जनाए ।

    उनले विधान संशोधन प्रस्तावमा सुझाव दिन मातहत कमिटीलाई परिपत्र गरिएको र सार्वजनिक बहस गर्नु पार्टी नीतिभन्दा बाहिरको कुरा बताए ।

    बौद्धिक परिषद्का अध्यक्ष गजेन्द्र थपलियाले विधान महाधिवेशनलाई व्यवस्थित बनाउन सर्वेक्षण सुरु गरेको बताउँदै विधानबारे व्यापक छलफल गर्नुपर्ने र बहस रोक्नु हुँदैन भन्ने जोड दिए ।

    थपलिया संस्थापनइतर समूहबाट निर्वाचित भएका हुन् ।

    एमालेको विधान महाधिवेशन आगामी भदौ २०–२२ गते ललितपुरको गोदाबरीमा हुनेछ ।

    यसमा राजनीतिक, सांगठनिक प्रतिवेदन, विधान संशोधन र सल्लाहकार परिषद् तथा आयोगका प्रतिवेदन छलफल हुनेछ ।

    अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images