images
images
  • एमालेमा च्याप्टर क्लोज भएपछि मदन भण्डारी फाउण्डेसनको आवरणमा राजीतिमा सक्रिय हुँदै विद्या

    काठमाडौं– करिब नौ वर्षपछि एमाले मुख्यालय च्यासलमा प्रवेश गर्दै पूर्वराष्ट्रपति र एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा पुनरागमनको घोषणा गरेकी छन् ।

    उनले पार्टी सदस्यता नवीकरण गरिसकेको बताउँदै पार्टी नेतृत्वमा समेत योगदान गर्न इच्छुक रहेको संकेत दिएपछि एमाले भित्रको राजनीति तातेको छ ।

    उनको सक्रियताबारे पार्टीभित्र मिश्रित प्रतिक्रिया आए ।

    एकातिर स्वागत, अर्कातिर विरोध ।

    यस्तै अवस्थामा पार्टीको सचिवालय र पोलिटब्युरो बैठक सकिएर केन्द्रीय समिति बैठक बस्न लागेको थियो ।

    यसैबीच भण्डारीले साउन ४ गते प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग च्यासलमै करिब दुई घण्टा ‘वन टु वन’ भेटवार्ता गरिन् ।

    भेटपछि दुवैको अनुहारमा हाँसो देखिएको भए पनि त्यसको प्रभाव पार्टी निर्णयमा देखिएन ।

    तीन दिनपछि बसेको दुईदिने केन्द्रीय समिति बैठकले भण्डारीको सदस्यता नवीकरण खारेज गर्ने निर्णय ग¥यो ।

    बैठकले राष्ट्रपति वा सम्माननीय पदमा पुगेकाहरू पार्टी राजनीतिमा सक्रिय हुन नपाउने भन्दै सदस्यता नवीकरण अस्वीकार ग¥यो ।

    भण्डारीले साउन ९ गते पत्रकार सम्मेलन गरेर पार्टी निर्णयप्रति असहमति जनाइन् ।

    तर, अपेक्षाअनुसार आक्रोश नदेखाउँदा उनका धेरै समर्थकहरू निराश बने ।

    उनका निकटका नेताहरूका अनुसार पत्रकार सम्मेलनमा ‘नरम’ देखिनु रणनीतिक हिसाबले गरिएको हो ।

    भण्डारी समूह अहिले पार्टीभित्रको विवाद सार्वजनिक रूपमा नताने पनि आन्तरिक रूपमा रणनीति बनाइरहेको छ ।

    उनीहरू अहिले मदन भण्डारी फाउण्डेशनलाई केन्द्र बनाउँदै आगामी गतिविधि अगाडि बढाउने तयारीमा छन् ।

    मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा ‘हीरक महोत्सव’ आयोजना गर्ने योजना भण्डारी नेतृत्वको टोलीले बनाएको छ ।

    त्यसै माध्यमबाट जबज र मदन भण्डारीका विचारलाई अगाडि सार्दै भावनात्मक रूपमा कार्यकर्तालाई जोड्ने प्रयास भइरहेको छ ।

    भण्डारी समूहले फाउण्डेशनका नाममा बानेश्वर हाइटस्थित थापागाउँमा चारतले भवन भाडामा लिएर सम्पर्क कार्यालय खोल्ने तयारी गरिरहेको छ ।

    त्यो भवन २०४८ सालको निर्वाचनमा मदन भण्डारीले प्रचार कार्यालय बनाएको घर हो भन्ने भावनात्मक सन्देशसहित प्रयोगमा ल्याइने बताइएको छ ।

    फाउण्डेशनका गतिविधिमार्फत पार्टी सदस्यता नवीकरणलाई जनस्तरको मुद्दा बनाउने तयारी छ ।

    प्रदेशस्तरमा पनि उनका समर्थकहरू अनौपचारिक रूपमा सक्रिय छन् ।

    अहिले सदस्यता नपाएको भए पनि समर्थन विस्तार हुँदै गएमा निर्णय उल्टाउन सकिने विश्वास भण्डारी पक्षमा देखिन्छ ।

    एक नेताका अनुसार आगामी विधान महाधिवेशनमा नै भण्डारी समूहले बेग्लै दस्तावेज पेस गर्ने तयारी गरिरहेको छ ।

    त्यसका लागि संवैधानिक र कानुनी पक्षहरू अध्ययन गरी एजेन्डा तयार पारिँदै छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images