images
images
  • प्रमुख सत्तारूढ कांग्रेस र प्रतिपक्षी माओवादी लगायतका दलहरू छलफलमा, एमालेलाई बाइपास

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा संसद्मा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस र नेकपा (एमाले) बाहेकका दलका नेता तथा संसदीय दलका नेताहरूको बैठक सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसिरहेको छ ।

    बैठकमा निर्वाचन आयोगले साउन २२ गतेभित्र सुझाव पेश गर्न आग्रह गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ का विषयमा छलफल भइरहेको छ ।

    आयोगले सो कार्यविधिको मस्यौदामा राजनीतिक दलहरूसँग लिखित सुझाव माग गरेको हो ।

    माओवादी केन्द्रले उक्त कार्यविधिको प्रभाव, त्यसको राजनीतिक निहितार्थ र आगामी दिनमा राजनीतिक दलहरूको भूमिकामा पर्न सक्ने असरका सम्बन्धमा समन्वित धारणा बनाउन बैठक बोलाएको बताइएको छ ।

    बैठकमा जसपा, लोसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायतका प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूको सहभागिता रहेको छ ।

    दलहरूले निर्वाचन आयोगको प्रस्तावित कार्यविधि संविधानसम्मत छ वा छैन, यसको कार्यान्वयन व्यावहारिक छ वा छैन भन्नेबारे सामूहिक रूपमा राय बनाउन खोजिएको स्रोतले जनाएको छ ।

    यसअघि सत्तारुढ माओवादी केन्द्रले निर्वाचन आयोगले ल्याएको कार्यविधि ‘राजनीतिक दलहरूलाई नियन्त्रण गर्ने प्रयास’ भनेर आलोचना गर्दै आएको छ ।

    बैठकले संयुक्त धारणा तयार पार्ने र आयोगलाई लिखित सुझाव पठाउने विषयमा पनि निर्णय गर्न सक्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images