काठमाडौं– २०७२ सालको भूकम्पले जीर्ण बनाएको हनुमानढोकास्थित जिल्ला प्रहरी परिसरको भवन भत्काइने भएको छ ।
रातो स्टिकर टाँसिएको उक्त भवन हटाएर त्यस स्थानमा मच्छिन्द्रनाथको रथ राख्ने परम्परागत पोखरी पुनर्निर्माण गरिनेछ ।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र नेपाल प्रहरी महानिरीक्षक दीपक थापाबीच भएको छलफलमा उक्त निर्णय भएको हो ।
बैठकमा ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीको समेत उपस्थिति थियो ।
छलफलमा सांस्कृतिक सम्पदा जोगाउन पोखरी पुनर्निर्माणलाई प्राथमिकता दिने सहमति भएको मेयर शाहको सचिवालयले जनाएको छ ।
साथै, उपत्यका ट्राफिक प्रहरी कार्यालयको जग्गामा ट्राफिक टावर र अन्य आवश्यक भवन निर्माणबारे पनि छलफल भएको थियो। त्यसका लागि नेपाल प्रहरीका इन्जिनियर रामकुमार चौधरी र महानगरका इन्जिनियर सन्तोष पाण्डेलाई लेआउट तयार गर्ने जिम्मा दिइएको छ ।
साथै, काठमाडौं महानगरपालिका–२७ को कार्यालयलाई हाल साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवनमा सार्ने प्रस्ताव र मानव बेचबिखन अनुसन्धान ब्युरोको भवन निर्माणका लागि जग्गा खोजी तथा सहकार्यको विषयमा पनि छलफल भएको महानगरले जनाएको छ ।






















