काठमाडौं– प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार विगतका दुई संसदीय निर्वाचनमा आफूले सबैभन्दा धेरै मत ल्याएर जितेको दाबी गर्दै त्यसमा कुनै ‘अनफेयर’ क्रियाकलाप नगरेको बताए ।
२०७९ मा झापा–५ बाट ५२,३१९ मत ल्याएर उनी विजयी भएका थिए । कांग्रेस–माओवादी गठबन्धनका खगेन्द्र पाण्डव अधिकारी उनलाई २८ हजार मतले पछि पार्दै पराजित भएका थिए ।
२०७४ मा पनि ओलीले ५७,१३९ मत ल्याएर सर्वाधिक मतदाताको समर्थन पाएका थिए ।
ओलीले पहिलो स्थान गुमाएको एक मात्र मौका भने उपनिर्वाचनमा हो । जहाँ रास्वपाका सभापति रवि लामिछानेले चितवन–२ बाट ५४,१७६ मत ल्याउँदै रेकर्ड बनाएका थिए ।
‘टप १०’ भोट ल्याउनेमध्ये ४ सांसद निलम्बनमा
२०७९ को आमनिर्वाचनमा सर्वाधिक मत ल्याउने ‘टप १०’ सांसदमध्ये चार जना अहिले निलम्बनमा छन् ।
रवि लामिछाने (रास्वपा): सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, संगठित अपराध अभियोगमा पुर्पक्षका लागि थुनामा ।
माधव नेपाल (नेकपा एस): पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियारको मुद्दा, धरौटीमा रिहा ।
टोपबहादुर रायमाझी (एमाले): नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा ।
मोहनबहादुर बस्नेत (कांग्रेस): टेरामक्स प्रकरणमा भ्रष्टाचार मुद्दा ।
अघिल्लो पटक निलम्बनमा परेका टेकबहादुर गुरुङ र लक्ष्मी महतो कोइरी भने अदालतको आदेशमा फुकुवा भइसकेका छन् ।






















