काठमाडौं– इन्द्रबहादुर बानियाँलाई बागमती प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त गरिँदैछ ।
नेपाली कांग्रेस संसदीय दलका नेता बानियाँले सोमबार नै दाबी पेश गरेका थिए ।
उनलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज औपचारिक रूपमा नियुक्त गर्न लागेका हुन् ।
कांग्रेस नेतृत्वको गठबन्धन सरकारमा एमालेले भागमा परेका ६ मन्त्रालयका लागि मन्त्री टुंग्याइसकेको छ ।
तर, कांग्रेस भने आन्तरिक गुटबन्दीका कारण अलमलमा परेको छ ।
हालसम्म कांग्रेसले मुख्यमन्त्रीसहित दुई मन्त्री धादिङका शिवराज अधिकारी (आन्तरिक मामिला तथा कानुन) र रसुवाका प्रभात तामाङ (आर्थिक मामिला तथा योजना)को मात्र टुंगो लगाएको छ ।
यी दुवै बानियाँ पक्षका हुन् र पार्टी सभापति शेरबहादुर देउवाले नाम तय गरिदिएको स्रोतको दाबी छ ।
कांग्रेसको आठ मन्त्रालयको भागमा अझै पाँच मन्त्रीको टुंगो लाग्न बाँकी छ ।
बानियाँ र निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाबीचको गुटीय प्रतिस्पर्धाले बाँकी मन्त्री चयन प्रभावित भएको हो ।
लामा पक्षले आफ्ना तीन मन्त्री गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुलाई नयाँ मन्त्रिपरिषद्मा समावेश गरिनुपर्ने अडान लिएको छ ।
बानियाँले सहमति जनाएपछि मात्र लामाले राजीनामा दिएका थिए ।
लामा पक्षले ती तीन मन्त्रीको आजै शपथ हुनुपर्ने माग गर्दै आएको छ ।
यसबीच, कांग्रेसबाट मन्त्री बन्नसक्ने अन्य सम्भावित नाममा सुना परियार, रमेश कुमार महत, विनु रायमाझी पौडेल, सुरेश श्रेष्ठ, मीना पराजुली र दीपेन्द्र श्रेष्ठको चर्चा छ ।
बानियाँले मुख्यमन्त्रीको शपथपछि आजै काठमाडौं आएर पार्टी शीर्ष नेतृत्वसँग बाँकी मन्त्री चयनबारे छलफल गर्ने तयारी गरेका छन् ।
कांग्रेसभित्रको आन्तरिक विवादका कारण मन्त्री चयन प्रक्रिया अन्योलमा परेको हो ।


विश्व खबर 




















