काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य कुसुम महर्जनले प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्द सूचीबाट आफ्नो नाम हटाउन पार्टीमा निवेदन दिएकी छन् ।
पार्टी प्रवक्ता मनिष झाले उक्त निवेदनमाथि मंगलबार बस्ने सचिवालय बैठकमा छलफल हुने जानकारी दिएका छन् ।
महर्जनले रूपन्देही–३ को उपनिर्वाचनमा उमेदवार बन्ने उद्देश्यले नाम फिर्ता मागेकी हुन् ।
कानुन अनुसार समानुपातिक सूचीमा रहेको व्यक्ति प्रत्यक्षतर्फ उम्मेदवार बन्न सक्दैन ।
उनले यो निर्णय व्यक्तिगतभन्दा पनि पार्टी र स्थानीय कार्यकर्तासँगको सल्लाहमा गरेको बताएकी छन् ।
रूपन्देही–३ की स्थायी बासिन्दा महर्जनसँग गैरसरकारी संस्थामा काम गरेको अनुभव छ ।
हाल काठमाडौंमा बस्दै आएकी छन् । उनले उमेदवार बन्ने सम्भावना रहेको पनि बताएकी छन् ।
तर, प्रवक्ता झाले उम्मेदवार चयन पार्टीको कार्यविधिअनुसार हुने स्पष्ट पारेका छन् ।
रास्वपाले उपनिर्वाचनका लागि उम्मेदवार आह्वान गरिसकेको छ ।
जसका लागि साउन २१ गतेसम्म आवेदन दिन सकिनेछ ।
पार्टीले १५ भदौमा उमेदवारको नाम सार्वजनिक गर्ने लक्ष्य राखेको छ ।
उपनिर्वाचनको सम्पूर्ण नेतृत्व पार्टी सहमहामन्त्री एवं लुम्बिनी प्रदेश इञ्चार्ज विपिनकुमार आचार्यले सम्हाल्ने छन् ।






















