images
images
  • माओवादी नेतृत्व विवाद : आलोचना स्विकार्ने कि दण्ड दिने ?

    काठमाडौं– कम्युनिस्ट पार्टी अन्तरसंघर्षले बलिया र खँदिला हुन्छन् भन्ने गरिन्छ । तर, नेपालका कम्युनिस्ट पार्टीहरूमा त्यस्तो देखिँदैन । विवाद भयो कि पार्टी फुट्ने र नेतृत्वको आलोचना ग¥यो कि कारबाही हुने परम्परा नेपालका कम्युनिस्ट पार्टीमा छ । पछिल्लो समय नेकपा (माओवादी केन्द्र) मा नेतृत्वको तीव्र आलोचना हुँदै आएको छ ।

    पार्टीका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीप्रति लक्षित गर्दै साउन ६ गते एक कार्यक्रममा मनमोहन अधिकारीबाहेक सबै कम्युनिस्ट प्रधानमन्त्री र नेताहरू भ्रष्ट रहेको आरोप लगाएका थिए ।

    शर्माले ४७औँ पुष्पलाल स्मृति दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा भनेका थिए, ‘प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा भ्रष्टाचार त्यसै घट्छ । तर, त्यस्तो संकल्प हाम्रो नेतृत्वमा देखिएन । दुःखका साथ भन्नुपर्छ मनमोहन अधिकारीबाहेक अरू कम्युनिस्ट नेताले असुली धन्दा गरैकै छन्, यो ठहर भएकै छ । यो आरोप होइन, यथार्थ हो ।’

    सो अभिव्यक्तिपछि माओवादी पार्टीभित्र उनको आलोचना मात्रै होइन, कारबाही हुनपर्नेसम्मको आवाज उठ्यो । उनले उठाएका विषयलाई लिएर पार्टीको सचिवालयदेखि स्थायी कमिटी बैठकमा पनि छलफल भयो । उनको भनाइलाई लिएर नेताहरू २ कित्तामा बाँडिएका थिए ।

    सोमबार सम्पन्न स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले उनलाई सो अभिव्यक्तिबारे आत्मालोचना गर्न ३ पटक आग्रह गरे पनि उनले अस्वीकार गरेको बैठक स्रोतको दाबी छ । ‘पहिले तपाईं आत्मालोचना गर्नोस्, अनि म गर्छु,’ शर्माले भने । उनले २०६४ सालको तुलनामा पार्टीको मत कम भएकामा प्रचण्डले जिम्मा लिनुपर्ने दाबी गर्दै आएका छन् । यद्यपि स्थायी कमिटी बैठकमा लामो समयदेखि पार्टी बैठकको माइन्युटमा हस्ताक्षर नगरेकामा भने शर्माले आत्मालोचना गरेका छन् ।

    शर्माले आफ्नो पार्टीभित्र जनवादी केन्द्रीयताको कुरा हुने गरे पनि अहिले जनवाद हराएर केन्द्रीयता मात्रै बाँकी रहेको टिप्पणी गर्दै आएका छन् । उनको उक्त भनाइले माओवादी पार्टी प्रचण्डको चाहनामा चल्छ भन्ने देखाउँछ । शर्माले पार्टी नेतृत्वको पुस्तान्तरण गर्नसमेत अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए । शर्मालाई जबाफ दिँदै अध्यक्ष प्रचण्डले पनि साउन ७ गते सार्वजनिक कार्यक्रममार्फत् नै पार्टीमा जनार्दनलाई ‘जति पनि सिँगौरी खेल्न दिएको’ बताएका थिए ।

    यसले लामो समयदेखि चल्दै आएको प्रचण्ड र शर्माबीचको द्वन्द्व सतहमा आएको थियो । त्यसो त पार्टीका जनवर्गीय संगठनहरूको अधिवेशनमा यी दुवै नेता निकटका कार्यकर्ताले प्यानल नै बनाएर चुनाव लड्दै आएका थिए । अहिले माओवादीमा प्रष्ट रूपमा २ गुट सक्रिय छन् ।

    अध्यक्ष प्रचण्डसहित केही पदाधिकारीले शर्मालाई बैठकमा आत्मालोचना गर्न आग्रह गरेका थिए । बैठकमा पार्टी नेतृत्वविरुद्ध बोलेको भन्दै अधिकांश नेताले शर्मालाई आत्मालोचना गर्न सुझाएका थिए । तर, शर्माले माइन्युटमा हस्ताक्षर नगरेकामा आत्मालोचना गरे पनि नेतृत्वबारे बोलेको बिषयमा केही नबोलेको एक नेताले बताए ।सचिवालय र स्थायी कमिटीमा पार्टीका अधिकांश नेताहरू प्रचण्डको पक्षमा खुलेपछि बैठकमा शर्माले आत्मालोचनासहित माइन्युटमा हस्ताक्षर गरेको एक नेताले बताए । शर्माले ४ वर्षदेखि बैठकको माइन्युटमा हस्ताक्षर गरेका थिएनन् । बैठकबाट बाहिरिने क्रममा शर्माले बैठकमा उच्चस्तरीय वैचारिक, राजनीतिक छलफल भएको सञ्चारमाध्यममा बताएका थिए ।

    अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबीचको अन्तरसंघर्षले पार्टी फुट्छ कि ! भन्नेसम्म चिन्ता बढेको थियो । २ नेताबीचको विवादले तलसम्म पार्टीभित्र गुट सिर्जना भएको छ । स्थायी कमिटीको बैठकपछि प्रवक्ता सापकोटाले पार्टी एकताबद्ध भएर अघि बढ्ने सहमति भएको बताए । उनले भने, ‘पार्टी अब एकताबद्ध भएर जाने कुरामा स्थायी कमिटी बैठक सफल भएको छ ।’ यसका साथै उपमहासचिव शर्माले उठाएको विषयमा बैठकमा सकारात्मक ढंगले छलफल भएको उनले बताए ।

    प्रवक्ता सापकोटाका अनुसार शर्माले साउन ६ गते दिएको अभिव्यक्तिमा आत्मालोचना त गरेका छैनन्, तर त्यस विषयमा उच्च जनवादी वातावरणमा छलफल गर्दै जाने कुरा भएको छ । बैठकपछि २६ बुँदे निर्णय सार्वजनिक गरिएको छ । निर्णयमा पार्टी विवादबारे खासै उल्लेख छैन, तर सरकारको कडा आलोचना गरिएको छ ।

    विप्लवको नेकपासँग एकता

    बैठकले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको छ । ‘दुवै पार्टीले एकता गर्ने निर्णय गरिसकेका छन्, अब छिट्टै एकता हुन्छ,’ प्रवक्ता सापकोटाले भने, ‘अन्य माओवादी धारसँग पनि एकताको प्रयास भइरहेको छ ।’ उनले नेकपा (एकीकृत समाजवादी)सँग पनि एकताबारे छलफल भइरहेको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images