images
images
  • पार्टीबाट निष्कासन गर्न माओवादी तयार भएपछि हतारिँदै जनार्दनले गरे माइन्युटमा हस्ताक्षर, पछि हटे प्रचण्ड

    काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकारले अबदेखि पार्टी निर्णयको माइन्युटमा हस्ताक्षर गर्ने भएका छन् ।

    चार वर्षअघि काठमाडौंमा भएको आठौँं महाधिवेशनमा महासचिवका दाबेदार रहेका उनले आफूलाई छेकिएको भन्दै त्यसयता माइन्युटमा हस्ताक्षर गर्न मानेका थिएनन् ।

    तर गत शुक्रबारदेखि सोमबारसम्म चलेको स्थायी समितिको बैठकमा लामो छलफलपछि उनी पार्टी माइन्युटमा सही गर्न तयार भएको पार्टी प्रवक्ता एवम् उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बताए ।

    ‘उहाँले माइन्युटमा हस्ताक्षर गर्छु भन्नु भएको छ । छलफलपछि उहाँले त्यसबारे महसुस गर्नु भएको छ’, सापकोटाले भने, ‘उहाँले स्थायी समितिका सदस्यहरू र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका कुरामा महसुस गर्नु भएको छ ।’

    जनार्दनले गत साउन ६ गते मनमोहन अधिकारीबाहेक अरू सबै कम्युनिस्ट प्रधानमन्त्रीहरू लुटमा लागेको भनेर दिएको अभिव्यक्तिबारे छलफल गर्दै जाने कुरा भएको सापकोटाले बताए ।
    ‘साउन ६ गते दिएको अभिव्यक्तिबारे आत्मआलोचना त गर्नु भएको छैन । त्यसबारे उच्च जनवादी वातावरणमा छलफल गर्दै जाने कुरा भएको छ’, सापकोटाले भने ।

    यसअघि प्रचण्डले पार्टीभित्र कुरा गरी बाहिर छताछुल्ल गर्दै हिँड्ने भए निस्केर जान चेतावनी दिएका थिए । यो बैठकमै जनार्दनमाथि कारबाहीको तयारी पनि भएको थियो । तर पार्टीका गुट–उपगुट विघटनको घुमाउरो बाटो अपनाउँदै प्रचण्डले जनार्दनलाई रोक्ने प्रयास गरेका छन् ।

    उपाध्यक्ष सापकोटाका अनुसार अहिलेको बैठकमा कसैलाई पनि कारबाहीको कुरा नउठेको र निर्णय पनि नभएको बताएका छन् ।

    ४७औं पुष्पलाल स्मृतिमा ‘वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन’ कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले मनमोहनबाहेक अरू सबै कम्युनिस्ट प्रधानमन्त्रीले असुली धन्दा चलाएको बताएपछि प्रचण्ड आक्रोशित भएका थिए । यद्यपि शर्माले उक्त अभिव्यक्ति प्रचण्डलक्षित नभएको बैठकमै जवाफ दिएका थिए ।

    उनले नेपालका कम्युष्टि नेताहरू बिचौलिया र कमिसनखोरीबाट टाढा रहन नसकेको बताएका थिए । ‘दुःखका साथ भन्नुपर्छ मनमोहन अधिकारीबाहेक अरु कम्युनिस्ट नेताले असुली धन्दा गरैकै छन्, यो आरोप होइन, यथार्थ हो,’ उनले भनेका थिए ।

    यसबारेमा अहिले केही निष्कर्ष ननिकाली छलफल गर्दै जाने साझा धारणा बनाइएको सापकोटाले बताए । उनले पार्टीका गुट उपगुट र स्वार्थ समूह विघटन गर्ने निर्णय भएको पनि बताए ।
    ‘सबैले संकल्पवद्ध प्रतिबद्धता गरेका छन् ।

    यदि कोही निर्णयविपरीत गएमा कारबाहीको दायरमा ल्याउने कुरा भएको छ’, सापकोटाले भने, ‘अब अनुगमन समिति बनाएर गुट–उपगुटमाथि निगरानी गरिनेछ । शुद्धीकरण र रूपान्तरणको क्षेत्रमा धेरै महत्वपूर्ण काम बैठकले गरेको छ ।’

    सापकोटाले पार्टी विधानविपरीतका काम रोक्न नियमावली पनि सार्वजनिक गर्ने निर्णय भएको पनि बताए । उनले विधि र प्रक्रियामा चल्ने संकल्प बैठकले गरेको पनि दाबी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images