images
images
  • भारतसँग निहुँ खोज्दै ट्रम्प, युक्रेन ध्वस्त पार्न रुसलाई आर्थिक सहयोग गरेको आरोप

    काठमाडौं– अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका सहयोगी तथा ह्वाइट हाउसका पूर्वप्रशासनिक उपप्रमुख स्टिफन मिलरले भारतमाथि रूसलाई युक्रेनविरुद्धको युद्धमा आर्थिक सहयोग गरेको आरोप लगाएका छन् ।

    एक टेलिभिजन अन्तर्वार्तामा मिलरले भारतले रूसबाट तेल किन्दै आएको र त्यसैमार्फत रूसलाई युद्ध खर्च गर्न आर्थिक स्रोत उपलब्ध गराएको दाबी गरेका हुन् ।

    उनका अनुसार ट्रम्पको बुझाइ पनि यही हो, भारतले रूसलाई अप्रत्यक्ष रूपमा युद्धमा समर्थन गरिरहेको छ ।

    ’ट्रम्पले यो व्यवहार स्वीकार्य छैन भन्ने स्पष्ट धारणा राख्नुभएको छ,’ मिलरले बताएका छन् ।

    तर, भारतले ट्रम्पको दबाबको बाबजुद पनि रूसबाट तेल खरिद जारी राख्ने अडान लिएको छ ।

    शनिबार रोयटर्ससँग कुराकानी गर्दै भारतका दुई उच्च अधिकारीहरूले रूसी तेल खरिद दीर्घकालीन सम्झौता भएको बताउँदै यो प्रक्रिया रोक्न नसकिने प्रस्ट पारेका छन् ।

    ’यी सम्झौताहरू तुरुन्त खारेज गर्न सकिने खालका होइनन्,’ ती अधिकारीहरूले भने ।

    अर्का एक अधिकारीका अनुसार रूसी क्रुड तेल प्रत्यक्ष रूपमा प्रतिबन्धित छैन र भारतले त्यो युरोपेली युनियनले तोकेको मूल्य सिमाभन्दा तलमै खरिद गरिरहेको छ ।

    हाल भारत रूसी तेलको ठूलो आयातकर्ता बनेको छ ।

    सन् २०२५ को जनवरीदेखि जुनसम्म भारतले दैनिक औसत १७ लाख ५० हजार ब्यारेल रूसी तेल आयात गरेको छ ।

    जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ प्रतिशतले बढी हो ।

    यता, ट्रम्पले युक्रेनमा युद्धविराम गराउने रणनीतिका रूपमा रूसबाट तेल किनेका देशमाथि उच्च भन्सार दर लगाउने चेतावनी दिएका छन् ।

    यही सन्दर्भमा अगस्ट १ पछि भारतमाथि २५ प्रतिशतको नयाँ भन्सार दर घोषणा गरिएको छ ।

    भारतको विदेश मन्त्रालयले भने यो विषयमा प्रत्यक्ष प्रतिक्रिया दिएको छैन ।

    तर, प्रवक्ता रणधीर जैसवालले पत्रकार सम्मेलनमा भारत–रूस सम्बन्ध स्थिर र विश्वासिलो रहेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images