images
images
  • आफ्नो सदस्यता निष्क्रिय गर्ने ओलीमाथि प्रतिवाद गर्न नेता–कार्यकर्ता उक्साउँदै भण्डारी

    काठमाडौं– पूर्वराष्ट्रपति विद्या भण्डारी पहिलोपटक नेकपा (एमाले)को पूर्वउपाध्यक्षको हैसियतमा सार्वजनिक रूपमा देखा परिन् ।

    पत्रकार सम्मेलनमा उनले आफ्नो पार्टी सदस्यता निष्क्रिय बनाउने निर्णयको तीव्र विरोध गर्दै नेतृत्वविरुद्ध स्पष्ट सन्देश दिइन् ।

    २०७२ कात्तिक ११ मा राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष रहेकी भण्डारीलाई पार्टीले राष्ट्रपतिको जिम्मेवारी दिएको थियो ।

    दुई कार्यकाल पछि २०७९ फागुनमा शीतल निवासबाट फर्किएपछि उनले १४ असारमा एमालेको सक्रिय राजनीतिमा पुनः प्रवेशको घोषणा गरेकी थिइन् ।

    सोही दिन मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा उनले सदस्यता नवीकरण गरेकी थिइन् ।

    उनको पुनः सक्रियतासँगै पार्टीभित्रको शक्ति सन्तुलन बदलिएको देखिएको थियो ।

    अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुलाई उनको सक्रियता मन परेको थिएन ।

    ओलीले पार्टी नेतृत्व अझै दशकौँ सम्हाल्ने बताइरहँदा भण्डारीले भने नेतृत्व दाबी गर्दै अघि बढेकी थिइन् ।

    यहीबीच हालै सम्पन्न केन्द्रीय कमिटी बैठकबाट भण्डारीको सदस्यता निष्क्रिय गर्ने निर्णय भयो ।

    महासचिव शंकर पोखरेलले पत्रकार सम्मेलनमार्फत उक्त निर्णय सार्वजनिक गरे ।

    भण्डारी निकट नेताहरूका अनुसार २०३७ सालमा प्राप्त ६४४ नम्बरको सदस्यता समेत एमालेको वेबसाइटबाट हटाइएको छ ।

    भण्डारीले पत्रकार सम्मेलनमा यस निर्णयप्रति असहमति जनाउँदै आफू विचलित नभएको र पार्टी मूल्य र सिद्धान्तमा दृढ रहेको बताइन् ।

    एमालेको ब्यानर, सूर्य चिन्ह, नाराहरू र मदन भण्डारीको तस्वीरसहितको पृष्ठभूमिमा आयोजित उक्त सम्मेलनमा भण्डारीले आफू पूर्वराष्ट्रपतिबाट पूर्वउपाध्यक्षको भूमिकामा फर्किएको संकेत दिइन् ।

    यसअघि केही कार्यक्रममा सहभागी भए पनि एमाले ब्यानरमा यसरी प्रस्तुत हुनु पहिलोपटक हो ।

    उनले पार्टीमा आफ्नो योगदान, सदस्यता प्राप्त मिति र जिम्मेवारीको स्मरण गराउँदै राष्ट्रपतिको भूमिकासमेत पार्टीकै निर्णय अनुसार भएको बताइन् ।

    मदन भण्डारीको वैचारिक र पारिवारिक लिगेसी आफ्नो साथ रहेको सन्देश दिँदै जबज सिद्धान्तको संरक्षणमा समर्पित रहने प्रतिवद्धता जनाइन् ।

    भण्डारी निकट नेताका अनुसार पत्रकार सम्मेलनले पार्टी निर्णयको प्रतिवादको सुरुआत गरेको छ ।

    कार्यकर्तालाई प्रतिवादमा उत्रन आह्वान गरिएको छ ।

    भण्डारीले पार्टी नेतृत्वलाई निर्णय पुनर्विचार गर्न आग्रह गर्दै आस्था, योगदान र सिद्धान्तको कदर हुनुपर्ने बताएकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images