images
images
  • जनार्दन शर्माले ४ वर्षदेखि पार्टीको निर्णयमा गरेका छैनन् हस्ताक्षर, टेर्दैनन् प्रचण्डको निर्देशन

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पछिल्ला चार वर्षदेखि पार्टी स्थायी समिति बैठकका निर्णयमा हस्ताक्षर नगरेको खुलेको छ ।

    आठौं महाधिवेशनमा महासचिव बन्ने दौडमा रहे पनि देव गुरुङलाई चयन गरिएपछि उनी नेतृत्वप्रति असन्तुष्ट रहँदै आएका छन् ।

    पार्टी नेताहरूका अनुसार शर्मा महाधिवेशनको हलमै महासचिव बन्ने रणनीतिमा थिए ।

    तर, बर्षमान पुन बिरामी भइ चीनमा रहेका कारण प्रचण्डले गुरुङलाई ल्याएका थिए ।

    त्यसयता शर्मा पार्टी नेतृत्वमाथि सार्वजनिक रूपमा समेत आक्रोश पोख्दै आएका छन् ।

    केही समयअघि उनले कम्युनिस्ट प्रधानमन्त्रीहरूलाई ‘असुली धन्दा’मा लागेको आरोप लगाउँदै भिडियो सार्वजनिक गरेका थिए ।

    माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले उपमहासचिव शर्माले माइन्युटमा हस्ताक्षर नगरेको पुष्टि गर्दै यो विषय अनुशासनको मामिला भएको बताएका छन् ।

    यसैबीच, पार्टी स्थायी समिति बैठकमा आत्मालोचनाको बहस चर्किएको छ ।

    अध्यक्ष प्रचण्डले उपमहासचिव शर्माले आन्तरिक विषय बाहिर ल्याएकामा आत्मालोचना गर्नुपर्ने धारणा राखे ।

    जवाफमा शर्माले यदि नेतृत्वले पनि गल्ती स्वीकार्छ भने आफू पनि आत्मालोचना गर्न तयार रहेको बताएका छन् ।

    शर्माले ३१ लाख मतबाट घटेर ११ लाखमा झर्नुको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताएका छन् ।

    उनले पार्टी विभाजन गर्ने सोच नभएको भन्दै कुनै हालतमा पार्टी नछाड्ने अडान दोहोर्याएका छन् ।

    तर, प्रवक्ता अग्निप्रसाद सापकोटाले भने नेतृत्वमा कुनै गल्ती नभएको भन्दै आत्मालोचना आवश्यक नरहेको जिकिर गरे ।

    अधिकांश नेताहरूले पनि नेतृत्वको प्रशंसा गर्दै प्रचण्डकै नेतृत्वमा अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

    यसले माओवादी केन्द्रभित्रको आन्तरिक असन्तुष्टि सतहमा देखिए पनि नेतृत्व परिवर्तनको सम्भावना तत्कालका लागि टर्दै गएको देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images