images
images
  • भीम रावल शैलीमा प्रचण्डमाथि खनिए जनार्दन

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले पार्टीका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’माथि गम्भीर आरोप लगाएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकमा उनले शर्माले सदनमा पार्टीभन्दा आफूलाई फरक र विशिष्ट देखाउन खोजेको आरोप लगाएका हुन् ।

    पाण्डेका अनुसार अन्तरिमकालदेखि नै सरकार र संसद्मा रहँदै आएका प्रभाकरले पार्टीको आधिकारिक लाइनलाई प्रस्तुत गर्नुभन्दा पनि आफ्नो छुट्टै छवि बनाउन केन्द्रित भएको प्रवृत्ति देखिएको छ ।

    उनले भने, ‘सदनमा उहाँको अभिव्यक्ति यस्तो आउँछ, जसले पार्टी नेतृत्वमाथि संशय जन्माउँछ ।’

    बैठकमा सहभागी एक नेताका अनुसार पाण्डेले शर्माको धारणा र प्रस्तुतिमा पार्टीको सामूहिक विचारभन्दा भिन्नता देखिएको उल्लेख गरेका थिए ।

    उनले सरकारमा सहभागी पार्टीको हैसियतमा स्पष्ट धारणा दिनुपर्ने बेलामा समेत प्रभाकरले नेतृत्वप्रति संकेत गर्ने ढंगमा टिप्पणी गरेको आरोप लगाए ।

    ‘संसदको मर्यादाभित्र बसेर पनि नेतृत्वमाथि संशय खडा हुनेगरी बोल्ने, आत्मालोचना गर्नुको साटो पार्टी नेतृत्वमाथि आरोप लाउने प्रवृत्ति उहाँमा देखिन्छ,’ पाण्डेको भनाइ उद्धृत गर्दै स्रोतले जानकारी दियो ।

    नेकपा (एमाले)का पूर्वनेता भीम रावल पनि जनार्दन शर्माकै शैलीमा नेतृत्वमाथि खनिँदै आएका थिए ।

    पार्टी हितविपरीत अभिव्यक्ति व्यक्त, नेतृत्वको कार्यशैलीको कडा आलोचना गर्दै गएपछि अन्ततः एमाले नेतृत्वले उनलाई पार्टीबाट निष्कासन गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images