काठमाडौं– २०७९ सालको निर्वाचनबाट नेपाली राजनीतिमा नयाँ आशा बोकेर उदाएका वैकल्पिक दलहरू २०८४ को चुनाव नपुग्दै संकटमा फसेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीजस्ता दलहरू ठूला अपेक्षा लिएर अघि बढेका भए पनि आन्तरिक विवाद, नेतृत्वको अस्थिरता र सत्ता मोहका कारण ती दलहरूप्रति जनताको भरोसा घट्दै गएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी
रवि लामिछानेको नेतृत्वमा पहिलो पटक चुनाव लड्दै २१ सिट जितेको रास्वपाले ठूलो सम्भावना देखाएको थियो ।
गृह मन्त्रालय समेत सम्हालेको पार्टीका सभापति लामिछाने भने हाल सहकारी ठगी प्रकरणमा पटक–पटक थुनामा परिरहेका छन् ।
विश्लेषकहरू भन्छन्, ‘नेतृत्व नफेरिए पार्टी संकटमै फस्नेछ । मधेस र हिमाली क्षेत्रमा प्रभाव कमजोर रहेको, गणतन्त्रप्रति अस्पष्ट धारणा र ढुलमुले विचारधाराले पार्टीको आधार कमजोर बनाइरहेको विश्लेषण गरिएको छ ।’
जनमत पार्टी
डा.सीके राउतले नेतृत्व गरेको जनमत पार्टी पनि विवादमा छ ।
मधेसलाई छुट्टै देश बनाउने आन्दोलनबाट राजनीतिमा आएका राउत मूलधारमा आएपछि आफ्नै सहकर्मीहरूलाई पार्टीबाट हटाउन थाले ।
पार्टीभित्रको असहिष्णुता, पारिवारिक हस्तक्षेप र भ्रष्ट्राचारको आरोपले जनमतको छवि कमजोर भएको छ ।
मधेस सरकारको नेतृत्वमा रहेका जनमत पार्टीले काम गर्न नसकेको र जनविश्वास गुमाउँदै गएको विश्लेषकहरूको ठम्याइ छ ।
नागरिक उन्मुक्ति पार्टी
रेशम चौधरी संरक्षक रहेको यो पार्टी पनि आन्तरिक द्वन्द्वले थला परेको छ ।
श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाएर बुवा लालवीर चौधरीलाई अध्यक्ष बनाइनु, महाधिवेशन विवाद, गुटबन्दी र सरकारमा भागबन्डाको झगडाले पार्टी दुई चिरा भएको छ ।
थरुहटमा प्रभाव राख्ने यो पार्टीले अबको चुनावमा अस्तित्व बचाउन संघर्ष गर्नुपर्ने देखिन्छ ।
विश्लेषकहरू भन्छन्, ‘यी नयाँ दलहरूले वैकल्पिक राजनीति गर्ने भनिए पनि उनीहरूमा न नीति स्पष्ट छ न नै संगठन सुदृढ। यथास्थितिमा रहे २०८४ को चुनावमा यी दलहरू गम्भीर धक्का खानेछन् ।’






















