काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्कमेनिस्तान यात्रा अघि मन्त्रिपरिषद् बैठक केहीबेरमा बालुवाटारमा बस्न लागेको छ ।
मन्त्रीहरू बालुवाटार पुगिसकेका छन् भने प्रधानमन्त्री ओली अहिले त्यहीँ आयोजित एक पुस्तक लोकार्पण कार्यक्रममा सम्बोधन गरिरहेका छन् ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार कार्यक्रम सकिएपछि मन्त्रिपरिषद् बैठक सुरु हुनेछ ।
प्रधानमन्त्री ओली आज राति ११ः५५ बजे फ्लाई दुबईको उडानमार्फत दुबई हुँदै तुर्कमेनिस्तान जाने कार्यक्रम छ ।
उनी संयुक्त राष्ट्रसंघीय भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो सम्मेलनमा सहभागी हुन जाँदैछन् ।
नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको सम्मेलन साउन २० देखि २३ गतेसम्म (अगस्ट ५–८) तुर्कमेनिस्तानको अवाजा सहरमा हुँदैछ ।
प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी हुनेछन् र साउन २३ गते (अगस्ट ८) स्वदेश फर्कने छन् ।






















