काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली राजनीतिक भाष्यमा बारम्बार ‘क्रान्ति गर्छु’ भन्ने वाक्यांश प्रयोग गर्ने नेतामध्ये अग्रपंक्तिमा छन् ।
१० वर्षे सशस्त्र द्वन्द्व गरेर २०६२/०६३ को शान्ति प्रक्रियामा प्रवेश गरेर सत्ताको नेतृत्वसमेत गरिसकेका प्रचण्ड अझै ‘क्रान्ति’को सन्दर्भ दोहोर्याइरहन्छन् ।
उनले राजनीतिक दर्शन, वर्तमान सत्ता सन्तुलन र पार्टीभित्रको अस्थिरतालाई केन्द्रीत गरेर रणनीतिक रूपमा यसो भनको हुनसक्ने वामविश्लेषक श्याम श्रेष्ठ बताउँछन् ।
उनी भन्छन्, ‘प्रचण्ड १० वर्षे सशस्त्र क्रान्तिका नायक हुन् । उनीमा त्यो नायकत्व अहिले पनि हाबी छ । उनी सत्तामा हुन् वा पार्टीमा नायककै भूमिका छन् । विगतको क्रान्तिले मूर्तरूप नपाएको चौतर्फी आलोचनालाई पथ्थर गर्न पुनः क्रान्ति गर्छु भनेका हुन् । खासमा प्रचण्डको यो तर्कले आलोचनालाई मथ्थर गर्न सक्दैन ।’
१. वर्गीय संघर्ष र वैचारिक निरन्तरताको बहाना
प्रचण्डले नेतृत्व गरेको माओवादी आन्दोलन २०५२ सालमा सुरु हुँदा वर्गीय, जातीय र पहिचान–आधारित अन्यायविरुद्ध सशस्त्र संघर्ष गरिएको थियो ।
अहिले संविधान र बहुदलीय संरचनामा सहभागिता जनाए पनि प्रचण्ड बारम्बार भन्छन्– क्रान्ति अधुरो छ ।
यसको कारण उनको वैचारिक धरातलमा जनताको सम्पूर्ण मुक्ति अझै नभएको दाबी हो ।
उनी क्रान्तिलाई ‘पुनरावृत्ति’ होइन, ‘नवप्रवर्तन’को रूपमा चित्रित गर्छन् ।
अर्थात् शान्तिपूर्ण तरिकाले सामाजिक संरचनामा फेरबदल गर्ने क्रान्तिको रूपमा अर्थ्याउन खोजेका छन् ।
तर, आलोचकहरू क्रान्तिको भाष्य केवल कार्यकर्तालाई गोलबद्ध राख्ने नारा भएकोले दाबी गर्छन् ।
२. पार्टीभित्र अस्थिरता र वैधता प्रदर्शन गर्ने रणनीति
प्रचण्ड नेतृत्वको माओवादी केन्द्र विगत केही वर्षयता निरन्तर कमजोर हुँदै गएको छ ।
निर्वाचनमा सिट संख्या घट्नु, ठूला नेताहरू पार्टी त्याग गर्नु र युवा पुस्तामा प्रभाव क्षीण हुनु प्रचण्डको नेतृत्वप्रति प्रश्न उठाउने आधार बनेका छन् ।
त्यसैले ‘क्रान्ति’को नारा पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन गर्न प्रयोग गरिएको रणनीतिक उपकरण हुनसक्छ ।
उनले क्रान्तिको नयाँ चरण सुरु गर्छु भन्दै आफ्ना कार्यकर्तालाई सक्रिय र गोलबद्ध राख्ने प्रयास गरेको हुनसक्ने विश्लेषकहरूको भनाइ छ ।
३. सत्ताभित्रबाट क्रान्तिको भाषा, द्वैध चरित्रको संकेत ?
प्रचण्ड तीनपटक प्रधानमन्त्री भइसकेका छन् ।
क्रान्ति विसर्जन गरिसकेका उनले क्रान्तिको भाषा प्रयोग गर्दा धेरैको मनमा प्रश्न उब्जिनु स्वाभाविक भएको विश्लेषक श्रेष्ठ बताउँछन् ।
राजनीतिक विश्लेषकरू भन्छन्, ‘यो द्वैध भाष्य हो । एकातिर उनी सत्ताको फाइदा लिन्छन् । अर्कोतिर राज्य व्यवस्थाकै आलोचना गर्छन् । यसले उनको क्रान्तिको अवधारणा स्पष्ट र सुसंगत नभएको देखाउँछ ।’
४. सत्तापरिवर्तन होइन, संरचनापरिवर्तनको माग ?
प्रचण्डका पछिल्ला भाषणहरूमा सत्ताको आलोचना होइन । संरचना र प्रणालीको आलोचनामा बढी देखिन्छ ।
उनले संघीयता कार्यान्वयन, सामाजिक न्याय, समान प्रतिनिधित्व लगायतका विषयमा सुधार नआएको भन्दै संरचनात्मक क्रान्तिको आवश्यकता रहेको औंल्याउँछन् ।
यसरी हेर्दा उनी ‘क्रान्ति’लाई विद्रोह वा सशस्त्र आन्दोलनको अर्थमा होइन, नीतिगत तथा प्रणालीगत रूपान्तरणको प्रतीकको रूपमा प्रयोग गरिरहेका छन् ।
५. राजनीतिक चाप र वैचारिक स्खलनको संकेत ?
प्रचण्डमाथि अहिले तीन तहको दबाब छ ।
१. अन्तरदलीय दबाब : प्रमुख सत्तासाझेदार नेपाली कांग्रेस र नेकपा (एमाले)सँगको असहज सम्बन्ध ।
२. अन्तरपार्टी दबाब : माओवादीभित्र नयाँ नेतृत्वको माग ।
३. जनस्तरको असन्तोष : महँगी, बेरोजगारी र सुशासनको अभाव ।
यी सबै चुनौतीबीच प्रचण्ड ’क्रान्ति’को भाषा दोहोर्याएर आफू अझै परिवर्तनको एजेन्डामा छु भन्ने देखाउन चाहन्छन् ।
तर, व्यवहारमा त्यो क्रान्ति कहाँ र कसरी सम्भव छ भन्ने सवाल भने उत्तरहीन रहन्छ ।
प्रचण्डको क्रान्ति गर्छु भन्ने उद्घोष वैचारिक पुनःस्मरण हो वा राजनीतिक अस्तित्व रक्षा गर्ने प्रयत्न यसबारे बहस गर्न सकिन्छ ।
यद्यपि आजको नेपालको सन्दर्भमा यो वाक्य एक आदर्शभन्दा बढी राजनीतिक अस्तित्व जोगाउने रक्षाकवच बन्न थालेको छ ।
उनले आज पनि फेरि एकपटक विद्रोह आवश्यक भएको बताएका छन् ।
दोलखाको ‘बोत्ले हत्याकाण्ड’ स्मृति सभामा बोल्दै उनले जनयुद्धपछि फेरि नयाँ क्रान्तिको तयारीमा लागेको घोषणा गरे ।
प्रचण्डले भने, ‘एकचोटि फेरि नयाँ विद्रोहबाट प्रतिक्रियावादीहरूलाई परास्त गर्नुपर्छ, मेरो प्रतिबद्धता यही हो र तयारी पनि भइरहेको छ ।’
उनले आफू शहीद परिवारहरूसँग संवाद गर्दै वर्गीय जोड बलियो बनाइरहेको पनि बताए ।
त्यस अवसरमा उनले प्रधानमन्त्री भएका बेला जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गर्ने निर्णय अदालतले रोकिदिएको उल्लेख गरे ।
२०५९ साउन १८ गते दोलखाको बोत्लेमा १५ जना माओवादी कार्यकर्ता सुरक्षाफौजको कारबाहीमा मारिएपछि सो घटनालाई माओवादी केन्द्रले ’बोत्ले हत्याकाण्ड’को रूपमा स्मरण गर्दै आएको छ ।






















