काठमाडौं– चार दशकदेखि विमलेन्द्र निधि र शेरबहादुर देउवाको साथमा रहेका रामसरोज यादव अन्ततः शेखर कोइराला समूहमा खुलेका छन् ।
साउन १० गते बर्दिवासमा आयोजना गरिएको आठ जिल्लाको भेलाबाट उनले शेखरलाई कांग्रेसको भावी सभापति बनाउने घोषणासहित नयाँ राजनीतिक यात्रा सुरु गरेका छन् ।
उनको प्रवेशले शेखर समूह उत्साहित छ भने देउवा–निधि क्याम्पमा हलचल पैदा भएको छ ।
पार्टीभित्र ‘रामसरोज जस्तो नेता किन सहजै गुमाउनु पर्यो?’ भन्ने प्रश्न उठिरहेको छ ।
पूर्व सभासद, दुईपटक प्रदेश सांसद र पूर्वमन्त्री समेत रहेका रामसरोजले लामो समयसम्म साथ दिए पनि निरन्तर बेवास्ता र षड्यन्त्रको सिकार भएको गुनासो गरेका छन् ।
प्रदेश सभापतिमा निर्वाचनदेखि मन्त्री पदसम्म आफूलाई योजनावद्ध रूपमा हराउने प्रयास भएको उनको दाबी छ ।
बालकृष्ण खाँण र देउवाले प्रदेश सभापति चुनावमा आफूलाई हराउन विशेष रणनीति बनाएको आरोप पनि उनले लगाएका छन् ।
बर्दिवासको भेलाले शेखरलाई सभापति बनाउने प्रतिबद्धता जनाउँदै जनकपुरमा सम्पर्क कार्यालय खोल्ने निर्णय गरेको छ ।
मधेशमा कांग्रेस कमजोर भएको भन्दै संगठन सुदृढ गर्नुपर्ने, भ्रष्टाचारको विरोध गर्ने, र १५ औं महाधिवेशन चाँडो गर्नुपर्ने माग पनि भेलाबाट उठेको छ ।
प्रदेशभर प्रभाव राख्ने रामसरोजको गुट–परिवर्तनले निधिको पकड कमजोर बन्ने देखिएको छ ।
यादव अब शेखर कोइरालालाई बीपी कोइरालाको राजनीतिक विरासत अघि बढाउने नेताको रूपमा हेरेको बताउँछन् ।
शेखर पक्ष अब मधेशमा ठूलो आमसभा गर्ने तयारीमा छ ।
कांग्रेसभित्र शक्ति सन्तुलन फेरिएको स्पष्ट संकेत देखिन थालेको छ ।
शेखर कोइरालाको रणनीति अब गुटमा असन्तुष्ट नेतालाई आफ्नो पक्षमा तान्ने दिशामा स्पष्ट रूपमा उन्मुख देखिन्छ ।






















