काठमाडौं– नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको प्रशंसा गर्दै बहुसंख्यक सदस्यले समर्थन जनाएका छन् ।
विधि र प्रक्रिया सुधारको माग गर्दै आएका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’को आलोचना भएको छ ।
शुक्रबारदेखि जारी बैठकमा शनिबारसम्म ४४ स्थायी समिति सदस्यले धारणा राखेका छन् ।
पदाधिकारीहरूमध्ये वर्षमान पुन, मात्रिका यादव, देवेन्द्र पौडेल, गंगा नारायण श्रेष्ठ, राम कार्की, ओनसरी घर्ती लगायतले प्रचण्डको नेतृत्वको समर्थन गर्दै शर्माको शैलीमाथि आपत्ति जनाए ।
पार्टीभित्र सुधारको कुरा उठाउने उपमहासचिव शर्मालाई केही नेताले आत्मलोचना गर्न सुझाव दिएका छन् ।
सचिव राम कार्की, परशुराम तामाङ, रेखा शर्मा र कमला रोकाले पार्टीमा अनुशासन र विधिको पालना जरुरी भएको बताएका छन् ।
राम कार्कीले नेतृत्व परिवर्तनको विषय उठाउँदै आलोपालो नेतृत्व प्रणालीको प्रस्तावसमेत राखे ।
गणेशमान पुन, सत्या पहाडी, टंक राई, अमृता थापा, प्रह्लाद बुढाथोकी, खगराज भट्ट, महेश्वर गहतराजलगायत नेताहरूले शर्माको अभिव्यक्तिले पार्टीमा भ्रम फैलाएको बताएका छन् ।
शर्माको साउन ६ गतेको सार्वजनिक टिप्पणीलाई लिएर पार्टीभित्र आलोचना चर्किएको हो ।
केही नेताले गुटबन्दीको प्रयास भइरहेको आरोप पनि लगाएका छन् ।
सचिव राम कार्की भने खुला छलफलको पक्षमा देखिए ।
बैठक आइतबार पनि जारी रहनेछ ।
बाँकी पदाधिकारीहरू आइतबार धारणा राख्नेछन् ।






















