images
images
  • नेकपा (एस) फुट उन्मुख : नेपालसँगको सैद्धान्तिक विमतिले एमालेमा फर्किँदै खनाल–भुषाल

    काठमाडौं– नेकपा (एमाले) विभाजन गरेर चार वर्षअघि गठन भएको नेकपा (एकीकृत समाजवादी)मा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीचको मतभेद अहिले सतहमा आएको छ ।

    अहिलेको विवादको सुरुवात खनालले सार्वजनिक रूपमा एमाले विभाजनको औचित्य पुष्टि हुन नसकेको भन्ने अभिव्यक्तिबाट भयो। त्यसपछि नेपालले खनाललाई पार्टी नै छाड्न चेतावनी दिए ।

    खनालले पनि नेपाललाई ‘तल्लो स्तरको चिन्तन’ भएको भन्दै पार्टी सञ्चालन गर्न नसक्ने नेताले पद त्याग्नुपर्ने प्रतिक्रिया दिए ।

    नेताहरूको कलह नयाँ देखिए पनि महाधिवेशनकै बेला दुई धार नेपालको ‘जबज’ र खनाल–भुसालको ‘वैज्ञानिक समाजवाद’ बीच वैचारिक मतभेद देखिएको थियो ।

    महाधिवेशनपछि संगठन र विभाग बाँडफाँटमा पनि असन्तुष्टि झल्किएको थियो ।

    छात्र संगठन अनेरास्ववियू र युवा संघमा समानान्तर गतिविधि, पार्टी एकताको सन्दर्भमा तल्ला तहमा मात्र राय संकलन र नेपालमाथि अख्तियारले मुद्दा दायर गरेपछि उठेको नैतिक बहसले नेताबीचको दूरी बढाएको छ ।

    नेपाल पक्षले खनाल–भुसाल समूह पार्टी निर्माणभन्दा आलोचना र असहमतिको राजनीतिमा रमाएको आरोप लगाएको छ ।

    खनाल पक्ष अध्यक्षको निर्णयशैली, संगठन सञ्चालन र भ्रष्टाचारसम्बन्धी मुद्दामा मौनताप्रति असन्तुष्ट छ ।

    यसरी, नेतृत्व तहकै जुहारीले एकीकृत समाजवादीको आन्तरिक एकता थप कमजोर बनाएको देखिन्छ ।

    खनाल र महासचिव धनश्याम भुषाल एमालेप्रति लचिलो बन्दै गएको देखिन्छ ।

    नेपालसँग गहिरिएको विवाद र एमालेसँगको निकटताले खनाल र भुषाल पुनः मूलघर एमालेमा फर्किन सम्भावना देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images