काठमाडौं– नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बिहीबार केन्द्रीय कार्यालय, पेरिसडाँडामा सुरु भएको छ ।
बैठकको प्रारम्भमा सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एजेन्डा पेस गरेका छन् ।
उपमहासचिव हरिबोल गजुरेलका अनुसार प्रत्येक स्थायी समिति सदस्यलाई १०–१५ मिनेट समय दिइएको छ ।
तर, छलफलको प्रकृतिअनुसार समय लम्बिन सक्नेछ । बुधबार बसेको पदाधिकारी बैठकले पाँचवटा मुख्य एजेन्डा तय गरेको थियो ।
मुख्य एजेन्डा :
पार्टीभित्रको अन्तरविरोध समाधानका उपाय
– विशेषतः अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीचको पछिल्लो विवादले बैठकलाई थप संवेदनशील बनाएको छ ।
– विधि र प्रक्रियामार्फत समाधान खोज्ने विषयमा छलफल केन्द्रित हुने सम्भावना ।
मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको निरन्तरता
केन्द्रीय समिति बैठकको मिति निर्धारण
समाजवादी मोर्चाको विस्तार तथा संगठन सुदृढीकरण
– कार्यविभाजन, संगठन निर्माण, आन्तरिक एकता सुदृढीकरण।
समसामयिक प्रस्ताव तयारी
– बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोप, संसदमा विचाराधीन विधेयक, र जनजीविका सम्बन्धी मुद्दामा केन्द्रित ।
गजुरेलका अनुसार छलफलपछि मात्रै शर्मालाई स्पष्टीकरण सोध्ने वा निष्कर्ष निकाल्ने निर्णय हुनेछ ।’
यस बैठकले माओवादी केन्द्रभित्रको रणनीतिक दिशा र आन्तरिक एकताको मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ ।






















