
काठमाडौं– नेपाली कांग्रेस र नेकपा (एमाले)का शीर्ष नेताहरूबीच बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठक सकिएको छ ।
बैठकमा संसद्मा विचाराधीन विधेयक र कानुन संशोधनसम्बन्धी विषयमा छलफल भएको जनाइएको छ ।
स्रोतका अनुसार छलफल मुख्यतः कानून संशोधनमै केन्द्रित थियो ।
जसका लागि महान्यायाधिवक्ता रमेश बडाललाई समेत सहभागी गराइएको थियो ।
मन्त्रिपरिषद् हेरफेरबारे भने कुनै छलफल नभएको स्रोतले स्पष्ट पारेको छ ।
तत्काल मन्त्रीहरू फेरबदल गर्न प्रमुख सत्तारूढ कांग्रेस सभापति शेरबहादुर देउवा इच्छुक नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले एजेन्डा नै अगाडि नसारेको स्रोतले बताए ।
बैठकमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल र महान्यायाधिवक्ता रमेश बडाल सहभागी थिए ।
यद्यपि स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषद् फेरबदल गर्ने आन्तरिक तयारी गरेका थिए ।
तर, देउवाले इच्छा नदेखाएपछि यो एजेन्डा अगाडि बढ्न सकेन ।
प्रधानमन्त्रीले मूलतः कांग्रेसले असहयोग गरे एमालेका मात्रै केही मन्त्रीहरू फेरिने बताइएको थियो ।
फेरिने सम्भावित मन्त्रीहरूमा रक्षामन्त्री मानवीर राई, उद्योग मन्त्री दामोदर भण्डारी र भूमि व्यवस्था मन्त्री बलराम अधिकारी रहेका थिए ।
अधिकारी हालै घूसकाण्डमा मुछिएका हुन् भने भण्डारी र राईको कार्यसम्पादनप्रति प्रधानमन्त्री असन्तुष्ट रहेको बताइएको छ ।
भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल सुरुमा कमजोर देखिए पनि हाल सन्तोषजनक कार्यसम्पादन देखिएकाले पदमै रहने सम्भावना छ ।
नयाँ मन्त्रीको सूचीमा झापा–४ का सांसद एलपी सावाँ लिम्बू, रूपन्देही–१ का छविलाल विश्वकर्मा, सूर्य थापा र जुलीकुमारी महतोको नाम चर्चामा छ ।
पार्टीभित्र सन्तुलन मिलाउन अर्थमन्त्री विष्णु पौडेल र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङ भने पदमै रहनेछन् ।
विद्या भण्डारीको सक्रिय राजनीतिमा चासो बढेसँगै उनीहरू ओलीको पक्षमा देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्