
काठमाडौं– नेपाली कांग्रेस र नेकपा (एमाले)का शीर्ष नेताहरूबीच बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठक सकिएको छ ।
बैठकमा संसद्मा विचाराधीन विधेयक र कानुन संशोधनसम्बन्धी विषयमा छलफल भएको जनाइएको छ ।
स्रोतका अनुसार छलफल मुख्यतः कानून संशोधनमै केन्द्रित थियो, जसका लागि महान्यायाधिवक्ता रमेश बडाललाई समेत सहभागी गराइएको थियो ।
मन्त्रिपरिषद् हेरफेरबारे भने कुनै छलफल नभएको स्रोतले स्पष्ट पारेको छ ।
तत्काल मन्त्रीहरू फेरबदल गर्न प्रमुख सत्तारूढ कांग्रेस सभापति शेरबहादुर देउवा इच्छुक नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले एजेन्डा नै अगाडि नसारेको स्रोतले बताए ।
बैठकमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल र महान्यायाधिवक्ता रमेश बडाल सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्