
काठमाडौं– बागमती प्रदेशको मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाउने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गम्भीर छलफल भएको छ ।
छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेस नेता एवं गृहमन्त्री रमेश लेखकलगायत सहभागी थिए ।
बैठकमा देउवाले लामालाई काठमाडौं बोलाएर राजीनामा दिन आग्रह गर्ने निर्णय भएको छ ।
लामा पनि देउवालाई भेट्न काठमाडौं आउँदै छन् । तर, उनले टिमसँग छलफल गरेर मात्र निर्णय गर्ने बताएका छन् ।
बैठकमा एमालेले कांग्रेसले पहिले आन्तरिक विवाद समाधान गर्नुपर्ने अडान राखेको थियो ।
तर, देउवाको आग्रह नमाने एमालेले समर्थन फिर्ता गरेर सरकार छाड्ने विकल्पमा पनि छलफल भएको स्रोतले बताएको छ ।
हालै कांग्रेसको प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।
बानियाँले २२ मत पाए भने लामाले १४ मतमा सीमित भए ।
दलको नेताबाट हटिएपछि लामाको नैतिक र राजनीतिक हैसियतमा प्रश्न उठेको छ, तर उनी राजीनामा दिन अनिच्छुक छन् ।
यदि एमालेले समर्थन फिर्ता गरेमा लामाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
तर, संविधानको धारा १६८ (२) अनुसार दलको नेता नभए पनि अन्य दलहरूको समर्थनमा मुख्यमन्त्री बन्न सकिने व्यवस्था रहेकोले लामा त्यसै आधारमा अझै टिक्ने प्रयासमा देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्