images
images
  • पारिवारिक फन्दामा नाउपा : पत्नी रञ्जीतालाई पार्टीबाट हटाउँदै पति रेशम

    काठमाडौं– काठमाडौंमा जारी नागरिक उन्मुक्ति पार्टी (नाउपा)को राष्ट्रिय भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठ (रेशम पत्नी)लाई हटाएर नयाँ कार्यसमिति घोषणा गर्ने तयारी गरेको छ ।

    श्रेष्ठलाई अध्यक्ष मात्र होइन, साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ भने सो निर्णय निर्वाचन आयोगमा बुझाउने प्रक्रिया अघि बढाइएको छ ।

    श्रेष्ठमाथि बैठक नबोलाउने, कार्यवाहक अध्यक्ष नियुक्तिमा विधान उल्लंघन, स्पष्टिकरण नबुझाउने, पोखराको लिचीबारी जग्गा प्रकरणमा संलग्नता, र पार्टी विधिविपरीत काम गरेको आरोप लगाइएको छ ।

    नयाँ अध्यक्षका लागि रेशम चौधरी (रञ्जीता पति)का बाबु लालवीर चौधरी मुख्य दाबेदार मानिएका छन् ।

    रामलाल डगौरा र गंगाराम चौधरीको नाम पनि चर्चामा छ ।

    डगौरा भेला सञ्चालन गरिरहेको आयोगका अध्यक्ष तथा टीकापुर नगरपालिकाका मेयर हुन् भने गंगाराम प्रतिनिधिसभा सदस्य हुन् ।

    यसअघि टीकापुरमा भएको महाधिवेशनमा गंगाराम महासचिव र रेशम चौधरी अध्यक्ष बनेका थिए ।

    तर, आयोगले उक्त महाधिवेशन मान्यता नदिएपछि रञ्जिता नेतृत्वको कार्यसमितिलाई नै निरन्तरता दिइएको थियो ।

    भेलाले अध्यक्ष मात्र होइन, सातै प्रदेशका संयोजकसहित उपाध्यक्ष, महासचिव र सात जना सहमहासचिव चयन गर्ने तयारी पनि गरेको छ ।

    रेशम चौधरी अहिलेको भेलालाई आयोगबाट मान्यता दिलाउने प्रयासमा छन् भने श्रेष्ठले भने भेला अवैध भएको भन्दै आयोगमा आपत्ति जनाउँदै नयाँ कार्यसमिति दर्ता नगर्न आग्रह गरेकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images