images
images
  • रक्षामन्त्री राई, उद्योग मन्त्री भण्डारी र भूमि व्यवस्था मन्त्री बलराम अधिकारीको पद धरापमा

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी तीव्र बनाएका छन् ।

    यस सम्बन्धमा सत्तारूढ गठबन्धनका साझेदार नेपाली कांग्रेससँग बिहीबार बिहान ११ बजे बालुवाटारमा बैठक बस्ने तय भएको छ ।

    प्रधानमन्त्री ओली पक्षबाट बैठकमा अर्थमन्त्री विष्णु पौडेल र सल्लाहकार विष्णु रिमाल पनि सहभागी हुनेछन् भने कांग्रेसतर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी हुने बताइएको छ ।

    प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईंका अनुसार मन्त्रिपरिषद् पुनर्गठनबारे कांग्रेससँग निरन्तर संवाद भइरहेको छ ।

    यद्यपि, कांग्रेसभित्र भने मन्त्री फेर्नेबारे कुनै औपचारिक छलफल नभएको देउवाका स्वकीय सचिव भानु देउवाले बताएका छन् ।

    एमाले स्रोतहरूका अनुसार प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् हेरफेर गर्ने सम्भावना उच्च रहेको छ ।

    कांग्रेसको सहमति नआएमा एमाले कोटाबाट मात्रै केही मन्त्रीहरू फेरिने छन् ।

    हेरफेरका लागि प्राथमिक सूचीमा रहेका मन्त्रीहरूमा रक्षामन्त्री मानवीर राई, उद्योग मन्त्री दामोदर भण्डारी र भूमि व्यवस्था मन्त्री बलराम अधिकारी छन् ।

    अधिकारी हालै घूसकाण्डमा तानिएका हुन् भने भण्डारी र राईप्रति प्रधानमन्त्री ओली असन्तुष्ट रहेको स्रोतको दाबी छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल प्रारम्भमा कमजोर देखिए पनि पछिल्लो समय कार्यसम्पादन सुधारिएको मूल्यांकन भएकाले उनी पदमै रहने सम्भावना देखिएको छ ।

    नयाँ मन्त्रीका रूपमा झापा–४ का सांसद एलपी सावाँ लिम्बू, रूपन्देही–१ का छविलाल विश्वकर्मा, सूर्य थापा र जुलीकुमारी महतोको नाम चर्चामा छ ।

    पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन अर्थमन्त्री विष्णु पौडेल र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङ भने यथावत् राखिनेछन् ।

    साथै पूर्वराष्ट्रपति विद्या भण्डारीको पछिल्लो सक्रियता र ओलीप्रतिको समर्थनले मन्त्रिपरिषद् पुनर्गठनलाई थप राजनीतिक महत्व दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images