काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् ।
यो विषयमा सत्ता साझेदार दल नेपाली कांग्रेससँग बिहीबार बिहान ११ बजे बालुवाटारमा बैठक बस्ने तय भएको छ ।
बैठकमा एमालेबाट प्रधानमन्त्री ओली, अर्थमन्त्री विष्णु पौडेल र सल्लाहकार विष्णु रिमाल तथा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी हुनेछन् ।
प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईंका अनुसार मन्त्रिपरिषद् हेरफेरका लागि कांग्रेससँग निरन्तर छलफल भइरहेको छ ।
तर, कांग्रेसभित्र मन्त्री फेर्नेबारे कुनै छलफल नभएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले स्पष्ट पारेका छन् ।
एमालेका नेताहरूका अनुसार प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने सम्भावना छ ।
कांग्रेसले असहयोग गरे एमालेका मात्रै केही मन्त्रीहरू फेरिने छन् ।
फेरिने सम्भावित मन्त्रीहरूमा रक्षामन्त्री मानवीर राई, उद्योग मन्त्री दामोदर भण्डारी र भूमि व्यवस्था मन्त्री बलराम अधिकारी रहेका छन् ।
अधिकारी हालै घूसकाण्डमा मुछिएका हुन् भने भण्डारी र राईको कार्यसम्पादनप्रति प्रधानमन्त्री असन्तुष्ट रहेको बताइएको छ ।
भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल सुरुमा कमजोर देखिए पनि हाल सन्तोषजनक कार्यसम्पादन देखिएकाले पदमै रहने सम्भावना छ ।
नयाँ मन्त्रीको सूचीमा झापा–४ का सांसद एलपी सावाँ लिम्बू, रूपन्देही–१ का छविलाल विश्वकर्मा, सूर्य थापा र जुलीकुमारी महतोको नाम चर्चामा छ ।
पार्टीभित्र सन्तुलन मिलाउन अर्थमन्त्री विष्णु पौडेल र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङ भने पदमै रहनेछन् ।
विद्या भण्डारीको सक्रिय राजनीतिमा चासो बढेसँगै उनीहरू ओलीको पक्षमा देखिएका छन् ।






















