काठमाडौं– लागूऔषध कारोबार मुद्दामा दोषी ठहर भई पाँच वर्ष कैद सजाय सुनाइएका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामाले हालै प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गरेका छन् ।
लामाले प्रधानमन्त्रीलाई ‘फिफा फर स्कुल’ कार्यक्रमको निमन्त्रण दिन भेटेको बताइएको छ ।
उनीसँगै एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई पनि बालुवाटार पुगेका थिए ।
तीनै जना ओलीसँग फोटो खिचाए पनि एन्फाले सार्वजनिक गरेको तस्वीरमा लामा देखिँदैनन् ।
२०६४ सालमा पाटन पुनरावेदन अदालतले लामालाई खैरो हेरोइन कारोबारको अभियोगमा पाँच वर्ष कैद र पाँच हजार जरिवाना सुनाएको थियो ।
तर, उनले फैसला कार्यान्वयन हुन नदिई फरार रहँदै सार्वजनिक पद सम्हालिरहेका छन् ।
सर्वोच्च अदालतले समेत उनलाई फरारकै हैसियतमा रहेको पुष्टि गरिसकेको छ ।
१७ वर्षदेखि फरार लामाले हालसम्म चार वर्ष दुई महिना कैद भुक्तान गर्न बाँकी छ ।
यद्यपि, उनी अहिले पनि एन्फाको उपाध्यक्ष पदमा छन् ।
युवा तथा खेलकुद मन्त्रालयले लामामाथि कारबाही गर्न राष्ट्रिय खेलकुद परिषदलाई पत्र पठाएको भए पनि कारबाही प्रक्रिया अघि बढेको छैन ।
अर्कोतर्फ लामाले आफू ‘पीडितको म्याद तामेलीमा परेको’ भन्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।
जसको सुनुवाइको म्याद पटक–पटक सरेको छ ।
यद्यपि उनी अझै निर्दोष सावित भइसकेका छैनन् ।
यसैबीच एएफसीले उनलाई आफ्नो सामाजिक उत्तरदायित्व कमिटीबाट हटाइसकेको छ ।






















