कैलाली– नागरिक उन्मुक्ति पार्टी (नाउपा)को राष्ट्रिय भेला आज काठमाडौंको बानेश्वरस्थित एक पार्टी प्यालेसमा बसिरहेको छ ।
पार्टीभित्र चुलिएको आन्तरिक विवादबीच जारी यस भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदबाट हटाउने निर्णय लिन सक्ने सम्भावना देखिएको छ ।
पार्टीका बहुमत सदस्यहरूले माग गरे पनि बैठक नबोलाएको र विधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको आरोपमा श्रेष्ठमाथि कारबाही प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ ।
यहीँ विवादका कारण केही दिनअघि बहुमत सदस्यहरूको सहभागितामा बसेको केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो ।
तर, तोकिएको समयावधिसम्म पनि उनले कुनै प्रतिक्रिया नदिएको पार्टी स्रोतको दाबी छ ।
स्पष्टीकरण नआएपछि पार्टीको अनुशासन समितिले अध्यक्ष श्रेष्ठमाथि औपचारिक कारबाहीको सिफारिस गरेको जनाइएको छ ।
आजको राष्ट्रिय भेलाले उक्त सिफारिसलाई अनुमोदन गर्दै नेतृत्व परिवर्तनसम्बन्धी निर्णय गर्न सक्ने संकेत देखिएको छ ।
यसअघि पति एवं पार्टीका संरक्षक रेशम चौधरीले पत्नी श्रेष्ठलाई तत्काल राजीनामा दिन माग गरेका थिए ।
उनी घुस काण्डमा मुछिएकी छन् ।






















