विराटनगर– नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान सरकारको कार्यशैली, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा प्रश्न उठाएका छन् ।
उनले सरकार जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताए ।
कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिमा एक वर्षभित्र कुनै प्रगति नभएको उनले जनाए ।
संविधान संशोधनका लागि बनाउने भनिएको कमिटी पनि अझै गठन हुन नसकेको उल्लेख गरे ।
लिची बगान घुस प्रकरणमा एक मन्त्रीले राजीनामा दिनुपरेको उदाहरण दिँदै राजनीतिमा नैतिकताको आवश्यकता औँल्याए ।
संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलका नेता र उपसभामुख गरी छ जना सदस्य रहने व्यवस्था अध्यादेशमार्फत कमजोर भएको र राष्ट्रपतिले विधेयक पुनरावलोकनका लागि फिर्ता पठाउनुको विषयमा चासो व्यक्त गरे ।
पूर्वराष्ट्रपति विद्या भण्डारी र प्रचण्डसँगको भेटमा नयाँ कुरा नभएको भन्दै सबै दलका नेतासँग भेटघाट आवश्यक भएको बताए ।
यसका साथै उनले आफूले कांग्रेस–एमाले नेतृत्वको सरकार ढलाउने रणनीति नभएको दाबी गरेका छन् ।
संसदीय दलको नेता फेर्न आवश्यक संख्या नपुगेकोले हतार गर्न नहुने र बहुमतमा जोड दिनुपर्ने बताए ।
अन्तमा उनले कांग्रेसको महाधिवेशन २०८२ भित्रै हुने कुरामा आफू अडिग रहेको दोहोर्याए ।






















