काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवामा संसदीय दलको बैठक आयोजना गरेको छ ।
बुधबार दिउँसो १ बजे भैरहवाको रमादा होटलमा भएको बैठकका बारेमा दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार संसद्को चालु (बर्खे) अधिवेशनको समीक्षा, कुलिङ अफ पिरियड, संवैधानिक निकायहरूको कामकारबाही लगायतका विषयमा छलफल गर्न यो बैठक राखिएको हो ।
रास्वपाका नेता र सांसदहरू रूपन्देही–३ क्षेत्रको लक्षित अभियान अन्तर्गत भैरहवामा छन् ।
यसै क्रममा उनीहरूले भैरहवा कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेसँग भेटघाट गरी परामर्श लिइरहेका छन् ।
मंगलबार कार्यवाहक सभापति डिपी अर्याल (डोलप्रसाद)ले पनि सभापति लामिछानेलाई भेटेर सल्लाह दिएका थिए ।
उपनेता श्रेष्ठले भने, ‘रूपन्देही–३ को चुनाव लक्षित कार्यक्रमका लागि सांसदहरू भैरहवामै रहेका कारण बैठक आयोजना गरेका हौँ । यस बैठकमा संसदको चालु अधिवेशनको समीक्षा, कुलिङ अफ पिरियड, संवैधानिक निकायको कामकारबाही लगायत थुप्रै विषयमा छलफल हुनेछ ।’
रास्वपा रूपन्देही–३ को उपचुनावलाई लक्षित गर्दै सभापति रवि लामिछानेको न्यायका लागि हस्ताक्षर अभियान, मतदाता भेटघाट र अन्य चुनावी गतिविधिहरू पनि गरिरहेको छ ।
संसदीय दलको यो बैठक पनि चुनावी प्रचारको एक भाग भएको पार्टीले जनाएको छ ।






















