काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकता विषयमा गहिरो छलफल भएको छ ।
आइतबार र सोमबार दुई अध्यक्षबीच भएको भेटमा एकताको सम्भाव्यता बारे गम्भीर कुराकानी भएको स्रोतले जानकारी दिएको छ ।
छलफलमा दोस्रो तहका नेताहरूलाई भने सहभागी नगराइएको जनाइएको छ । ‘
हाल माओवादी केन्द्रभित्र उपमहासचिव जनार्दन शर्माले खुलेआम चुनौती दिन थालेपछि अध्यक्ष दाहालले आन्तरिक संकट महसुस गरिरहेका छन् ।
उता, अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि समाजवादी अध्यक्ष नेपाल पनि दबाबमा छन् ।
सरकार परिवर्तनको प्रयास असफल भएपछि उनीहरू दुवै सत्तारूढ र विपक्षी मोर्चामा कमजोर हुँदै गएको अनुभूति गर्दै एकताको विकल्प खोजिरहेका छन् ।
गत माघमा माओवादी केन्द्रीय कमिटी बैठकले नेकपाका पूर्वमाओवादी घटकहरूसँग एकता गर्ने र एकीकृत समाजवादीसँग पहल गर्ने निर्णय गरेको थियो ।
एकीकृत समाजवादीले महाधिवेशनमै माओवादीसँग एकता हुन नसक्ने प्रस्ताव पारित गरेपछि पहल अघि बढ्न सकेको थिएन ।
यता, विप्लव नेतृत्वको नेकपाका महासचिवले समाजवादी मोर्चाको औचित्यमाथि प्रश्न उठाउँदै मोर्चा विघटनको प्रस्ताव राखेपछि एकताबारेको संवाद फेरि सक्रिय भएको हो ।
आज दिउँसो ३ बजे आलोकनगरस्थित समाजवादी कार्यालयमा मोर्चाको बैठक बस्दैछ ।
मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी सहभागी छन् ।






















