images
images
  • जनार्दन शर्मालाई कारबाही गर्ने तयारीमा प्रचण्ड !

    काठमाडौं– नेकपा (माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले हालै पार्टीमा निरंकुश प्रवृत्ति बढेको भन्दै दिएको अभिव्यक्तिपछि पार्टीभित्र तीव्र विवाद उत्पन्न भएको छ ।

    शर्माले साउन ६ गते पुष्पलाल स्मृति दिवसको अवसरमा कम्युनिस्ट पार्टीहरू नोकरशाही केन्द्रीयतामा रूपान्तरित भएको र सामन्ती शैलीको व्यवहार देखिएको टिप्पणी गरेका थिए ।

    उनको आलोचना पार्टी नेतृत्व विशेषतः अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित देखिएको भन्दै प्रचण्डपक्षीय नेताहरू आक्रोशित छन् ।

    केही नेताहरूले शर्मालाई कारबाही गर्न वा स्पष्टीकरण सोध्नुपर्ने माग गरेका छन् ।

    उपमहासचिव वर्षमान पुन र मात्रिका यादवले सार्वजनिक रूपमा शर्माको आलोचना गरेका छन् ।

    शर्मापक्षीय नेताहरू भने यो अभिव्यक्ति पार्टीभित्र विधि र रूपान्तरणको पक्षमा भएको बताउँछन् ।

    सांसद सुदन किराँतीले शर्माले विधिको पक्षमा आवाज उठाएको र पार्टी विभाजन गर्ने कुनै योजना नभएको स्पष्ट पारेका छन् ।

    अध्यक्ष प्रचण्डले पनि भोलिपल्ट साउन ७ गतेको कार्यक्रममा अप्रत्यक्ष रूपमा शर्माको आलोचना गर्दै पार्टीभित्र भिन्न मतलाई दमन नगर्ने आफ्नो नीति दोहोर्‍याए ।

    साउन १६ गते बस्ने स्थायी समिति बैठकमा यो विवाद प्रमुख एजेन्डाका रूपमा छलफल हुने माओवादी नेताहरूले बताएका छन् ।

    पार्टीभित्र यो विषय सेलाउने भन्दा चर्किने संकेत देखिएको छ, जसले माओवादी केन्द्रको आन्तरिक शक्ति सन्तुलनमा थप असर पार्न सक्ने संकेत दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images