काठमाडौं– नेकपा (एमाले) ले पार्टी र अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चारवटा शक्तिको गठबन्धनले सुनियोजित हमला गरिरहेको आरोप लगाएको छ ।
पार्टीको अन्तरपार्टी निर्देशन (अपानि) मार्फत एमालेले ती शक्तिहरूको पहिचान गर्दै सशक्त प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।
एमालेका अनुसार पहिलो शक्ति देशभक्तिपूर्ण अडान मन नपराउने विदेशी प्रभुत्व चाहने तत्व हुन् ।
दोस्रो शक्ति राजसंस्था समर्थक, विशेषगरी दुर्गा प्रसाईं जस्ता व्यक्तिहरू छन् ।
जसलाई एमालेले प्रतिक्रियावादी भनेको छ ।
तेस्रो शक्ति माओवादी केन्द्र रहेको एमालेको ठहर छ ।
उसले एमालेकै कारण आफ्नो म्याजिक नम्बर काम नलाग्ने भएपछि माओवादी नेतृत्व एमालेविरुद्ध अराजनीतिक र छद्म शैलीमा हमला गरिरहेको आरोप लगाएको छ ।
चौथो शक्ति नयाँ वैकल्पिक समूहहरू जसमा बालेन शाह, हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टी भएको एमालेको दाबी छ ।
उनीहरूलाई एमालेले लोकप्रियतावादी र अराजकतावादी करार गर्दै पार्टीविरुद्ध दुष्प्रचारमा लागिरहेको आरोप लगाएको छ ।
पार्टीले यी चारवटै शक्तिको षड्यन्त्रपूर्ण गतिविधिको प्रतिवाद गर्दै मिसन–८४ सफल बनाउन एकताबद्ध हुन कार्यकर्तालाई आह्वान गरेको छ ।






















