काठमाडौं– प्रमुख राजनीतिक दलहरूभित्रको अन्तरविरोध चर्किदै गएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः फर्किएको घोषणाले नेकपा (एमाले)भित्र विवाद बल्झिएको छ ।
असार १४ गते मदन भण्डारीको जन्मजयन्तीमा आफू एमालेमा पुनः आबद्ध भएको बताएकी भण्डारीको सदस्यता एमाले केन्द्रीय समितिले साउन ६ गते खारेज ग¥यो ।
उक्त निर्णयविरुद्ध उपाध्यक्षद्वय युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे लगायतले ’नोट अफ डिसेन्ट’ लेखेका छन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली भण्डारीप्रति असन्तुष्ट छन् ।
उनले उमेर हद र कार्यकाल सीमा हटाएर विधान संशोधन गर्दै आगामी महाधिवेशनमा आफ्नै पकड बलियो बनाउने तयारी गरेका छन् ।
भण्डारीले भने आफूले विधिअनुसार सदस्यता नवीकरण गरेको दाबी गर्दै खारेज गर्न नसकिने बताएकी छन् ।
यसले एमालेको आगामी महाधिवेशन र मिशन–८४ मा गहिरो असर पार्ने देखिन्छ ।
यसैगरी, नेपाली कांग्रेसभित्र पनि आगामी १५औं महाधिवेशनलाई लिएर गुटबन्दी चर्किएको छ ।
सभापति शेरबहादुर देउवाको उत्तराधिकारी बन्न शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा लगायत सक्रिय देखिन्छन् ।
अनुशासन समितिबाट कोइराला समूहका १८ नेताहरू कारबाहीमा परेपछि असन्तुष्टि बढेको छ ।
माओवादी केन्द्रमा पनि अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच विवाद गहिरिएको छ ।
शर्माले पार्टीमा जनवाद नदेखिएको भन्दै नेतृत्व चयनमा प्रत्यक्ष निर्वाचनको प्रस्ताव राखेपछि विवाद चर्किएको हो ।
एकीकृत समाजवादीमा भने अध्यक्ष माधव नेपालमाथि अख्तियारले मुद्दा दर्ता गरेपछि उनीमाथि राजीनामाको दबाब छ ।
नेतृ रामकुमारी झाँक्रीले विशेष महाधिवेशनको माग गर्दै पुरानै नेतृत्वप्रति असन्तुष्टि जनाएकी छन् ।
राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन र डा.धवलशमशेर राणा बीचको विवाद पार्टी फुटतर्फ उन्मुख हुँदैछ । जसपा नेपाल पनि विभाजनपछि अदालती प्रक्रियामा फसेको छ ।
सत्तापक्षदेखि प्रतिपक्षसम्मका मुख्य दलहरू आन्तरिक खिचातानी, गुटबन्दी र नेतृत्व विवादमा गहिरिंदै गएका छन् । जसले आगामी राजनीतिक समीकरणहरूमा ठूलो असर पार्ने देखिन्छ ।






















