काठमाडौं– प्रतिनिधिसभा उपचुनाव नजिकिँदै गर्दा नेपाली कांग्रेसले रूपन्देही–३ मा उम्मेदवार चयनको तयारी अन्य दलभन्दा ढिलो थालेको छ ।
सभापति शेरबहादुर देउवाले हालै बुढानीलकण्ठमा शीर्ष नेताहरूसँग छलफल गरे पनि उम्मेदवारबारे निर्णय नभएको बताइएको छ ।
पूर्वगृहमन्त्री बालकृष्ण खाँणले उम्मेदवारीको इच्छा व्यक्त नगरेको नेताहरू बताउँछन् ।
खाँण भुटानी शरणार्थी प्रकरणमा सात महिना थुनामा बसेका थिए र हाल पनि अदालतको फैसलाको प्रतीक्षामा छन् ।
खाँण नउठ्ने हो भने भरत शाह, प्रमोद यादव, रमेश खनाल र रामचन्द्र ढकाल जस्ता नेताहरूको नाम चर्चामा छन् ।
तर, शाह र यादव अरू क्षेत्रबाट पराजित भएका कारण उनीहरूको दाबी कमजोर देखिन्छ । ढकालले खाँण नउठे मात्र उम्मेदवारी दिने बताएका छन् ।
यस क्षेत्रको अघिल्लो निर्वाचनमा कांग्रेस समानुपातिक र स्थानीय तहमा पहिलो दल बने पनि प्रत्यक्षतर्फ एमाले–राप्रपा गठबन्धनका दीपक बोहरासँग खाँण पराजित भएका थिए ।
अब कांग्रेसभित्र युवालाई अघि सार्ने बहस पनि उठ्न थालेको छ ।
महामन्त्री विश्वप्रकाश शर्मा हालै चार दिन क्षेत्रमै बसेर स्थानीय नेताहरूसँग छलफल गरी फर्किएका छन् ।
कांग्रेसले चुनाव जित्ने रणनीति बनाउन तयारी थालेको भए पनि उम्मेदवार चयनको प्रक्रिया अझै स्पष्ट भइसकेको छैन ।






















