images
images
  • बागमतीमा आफ्नो खेमाको मुख्यमन्त्री बनाउन कांग्रेसका शीर्ष नेताहरूको हानथाप, शेखर रुष्ट

    काठमाडौं– बागमती प्रदेशमा नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा रहेको सरकारलाई संकटमा पारेको छ ।

    मुख्यमन्त्री बहादुरसिंह लामाले आलोपालो कार्यकालको सहमति पालना नगरेको भन्दै कांग्रेसकै २१ सांसदले उनको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

    यसअघि कांग्रेसका चारजना मन्त्री सुरजचन्द्र लामिछाने, विमल ठकुरी, मधुकुमार श्रेष्ठ र मीनकृष्ण महर्जनले एकैपटक राजीनामा दिएका थिए ।

    महर्जनका अनुसार लामा सहमतिबाट पछि हटेपछि पार्टीको निर्देशनमा राजीनामा दिइएको हो ।

    कांग्रेसका ३७ प्रदेशसभा सदस्यमध्ये २१ जनाले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् भने २४ जना समर्थनमा रहेको दाबी गरिएको छ ।

    दलको नेताबाट लामालाई हटाएर इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउने तयारी भइरहेको छ ।

    प्रदेश सभापतिसमेत रहेका बानियाँ सभापति शेरबहादुर देउवाका निकट नेता हुन्, जबकि लामा पनि देउवा समूहमै परेका छन् ।

    देउवाले मत विभाजनसम्म स्थिति नपुगोस् भन्ने प्रयासस्वरूप नेता राजेन्द्र केसीलाई हेटौंडा पठाएर दुवै पक्षसँग सहमति खोजिरहेका छन् ।

    यता शेखर कोइराला पक्षले भने आफ्नै नेतालाई हटाउने कार्य गलत नजिर बस्ने भन्दै चेतावनी दिएको छ ।

    नेता कृष्णप्रसाद सिटौलाले मिलाउन सकिने विषयलाई पार्टीले झन गिजोलेको आरोप लगाएका छन् ।

    सरकारको अस्थिरताको पछाडि आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको बजेट वितरणमा गरिएको मनोमानी पनि मुख्य कारण भएको बताइएको छ ।

    कांग्रेस र माओवादी सांसदहरू नै काफ्लेको कार्यशैलीप्रति असन्तुष्ट बनेपछि सत्ता फेरबदलको बहाना खोजिएको हो ।

    मुख्यमन्त्री लामा भने संसदीय दलमा बहुमत नभए पनि आफू पदमा रहन योग्य रहेको अडानमा छन् ।

    आगामी बैठकमा मत विभाजनको तालिका रहेको बताइए पनि कांग्रेसले अन्तिम प्रयासस्वरूप सहमतिको बाटो खोजिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images