images
images
  • भण्डारी पक्षधर एमाले नेता–कार्यकर्तालाई कारबाही गर्न इञ्चार्जहरूलाई ओलीको निर्देशन

    काठमाडौं– नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक गतिविधि रोक्न पार्टी नेताहरूलाई कडा निर्देशन दिएका छन् ।

    साउन ८ गते राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सातै प्रदेश इन्चार्ज र अध्यक्षहरूलाई बोलाई ओलीले भण्डारीको समानान्तर अभियान पार्टी हितविपरीत रहेको भन्दै तत्काल नियन्त्रण गर्न निर्देशन दिएका हुन् ।

    राति १०ः४० बजे सुरु भएर बिहान ३ः३० बजे सम्पन्न बैठकमा ओलीले भण्डारीको पक्षमा लागेका नेताहरूलाई सम्झाएर फकाउन र नमाने कडाभन्दा कडा कदम चाल्न निर्देशन दिए ।

    त्यसकै प्रभावस्वरूप एमालेले लुम्बिनी राष्ट्रिय युवा संघ अध्यक्ष सुरज खरेललाई अध्यक्ष ओलीसम्बन्धी आलोचनात्मक स्टाटस लेखेको आरोपमा निष्कासन ग¥यो ।

    बैठकमा सहभागी नेताहरूका अनुसार ओलीले भण्डारीको झापाबाट सुरु हुने भनिएको नयाँ अभियान रोक्न वडातहसम्म पार्टी संयन्त्र परिचालन गर्न निर्देशन दिएका छन् ।

    ओलीले सातै प्रदेशको रिपोर्टिङपछि एक घण्टा बढी बोलेका थिए ।

    उनले भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कनु अकल्पनीय कदम भएको बताए ।

    बैठकमा महासचिव शंकर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा र विष्णु पौडेल, सचिवहरू पद्मा अर्याल र लेखराज भट्ट पनि सहभागी थिए ।

    उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल भने अनुपस्थित रहे ।

    ओलीले विधान महाधिवेशन प्रतिनिधि छनोटमा भण्डारी पक्षलाई प्रभाव पर्न नदिने रणनीति बनाएर कार्यान्वयन सुरु भइसकेको संकेत दिएका छन् ।

    उनका अनुसार भण्डारीको गतिविधिले विशेषगरी कोशी र बागमती प्रदेशमा चुनौती उत्पन्न गर्न सक्ने भएकाले ती प्रदेशमा थप सक्रिय हुन भनिएको छ ।

    प्रदेश इन्चार्जहरूले बैठकपछि वडातहसम्म अभियान चलाउने तयारी थालेका छन् ।

    एमालेको विधान महाधिवेशन भदौ २०–२२ मा हुँदैछ ।

    यसअघि भदौ १५ भित्र प्रतिनिधि छनोट सक्ने र संगठनात्मक रिपोर्ट केन्द्रमा बुझाउने कार्यतालिका तय गरिएको छ ।

    ओलीले पार्टीको लामो संघर्षको सन्दर्भ दिँदै भण्डारीको हालको राजनीतिक निर्णयले उल्टै उनको व्यक्तित्वमै आँच ल्याएको टिप्पणी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images