images
images
  • एनआईसी एशिया बैंकमा रिकोभरी हेड र सहायक सीइओको आतंक

    काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडको रिकोभरी डिपार्टमेन्टमा कार्यरत कर्मचारीहरू गम्भीर कार्यस्थल दवाव र अमानवीय व्यवहारको शिकार भएका छन्।

    बैंकको ‘एग्रेसिभ रिकोभरी’ रणनीतिका नाममा सहायक प्रमुख कार्यकारी अधिकृत (सीइओ) अर्जुनराज खनिया र रिकोभरी विभाग प्रमुख सुमित गिरीले कर्मचारीहरूलाई अस्वस्थ र असहज वातावरणमा काम गर्न बाध्य बनाएको आरोप लागेको छ।

    बैंकभित्रको स्रोतका अनुसार, व्यवस्थापनको कमजोर निर्णय र जथाभावी रुपमा वितरण गरिएका ऋणहरू असुल हुन नसकेपछि, यसको सम्पूर्ण जिम्मेवारी जुनियर कर्मचारीहरूमाथि थोपारिएको छ।

    राति अबेरसम्म काम गर्न बाध्य पारिने, सार्वजनिक बिदा र शनिबारसमेत कार्यालय आउन निर्देशन दिइने, र पारिवारिक अवस्थाको ख्याल नगरी निरन्तर मानसिक दवाव दिइने घटनाहरू नियमित जस्तै भएका छन्।

    एक कर्मचारीले बताएअनुसार, “गर्भवती महिला, साना बालबच्चा भएका आमा, सबैलाई एउटै ढाँचामा राखेर कठोर व्यवहार गरिन्छ। सात महिनाको गर्भवती कर्मचारीलाई समेत जबर्जस्ती काममा बोलाई निकाल्ने योजना बनाइएको छ। ‘काम गर्न नसके घरमै बस’ भन्ने प्रकारको भाषा प्रयोग हुन्छ।”

    राति ९ बजेसम्म काम गराउने, “मासु भात खुवाएकै छौं, घर किन जानु पर्छ?” भन्ने अपमानजनक अभिव्यक्ति प्रयोग गर्ने, कर्मचारीका श्रीमान/श्रीमतीले समेत व्यवस्थापनसँग असन्तोष जनाउनेजस्ता घटनाहरू गम्भीर चिन्ताको विषय बनेका छन्।

    राष्ट्र बैंकले रिकोभरी विभागमा भइरहेको दवाव र बेतिथिका विषयमा स्पष्टीकरण मागिसकेको भए पनि, बैंक व्यवस्थापनले नियामक निकायको निर्देशनसमेत बेवास्ता गरेको स्रोत बताउँछ। राष्ट्र बैंक र ट्रेड युनियनलाई देखाउन हाजिरी समयको इन-आउट डाटा मात्रै सम्प्रेषण गरिन्छ, तर वास्तविक कार्यस्थितिबारे तथ्य लुकाइन्छ।

    स्रोतअनुसार, रिकोभरी डिपार्टमेन्टमा सीइओ रोशनकुमार न्यौपानेको प्रत्यक्ष संरक्षणमा खनिया र गिरीले कर्मचारीमाथि अनुचित व्यवहार गरिरहेका छन्। गिरी न्यौपानेका विश्वासपात्र मानिन्छन्, जसका कारण उनीमाथि कुनै पनि अनुशासनात्मक कारबाहीको सम्भावना नदेखिएको एक कर्मचारीको दाबी छ।

    बैंकको नीति अनुसार, श्रीमान-श्रीमतीलाई एउटै शाखा वा विभागमा नराख्ने व्यवस्था भए पनि, सीइओ निकट भनिएका कर्मचारीलाई नियमविपरीत एकै विभागमा राखिएको उदाहरणसमेत देखिएको छ।

    स्रोतहरूले भनेका छन्, “यहाँ हाकिमसँग पहुँच भएका कर्मचारीले कुनै कोड अफ कन्डक्ट मान्दैनन्। पदअनुसार नभई सम्बन्ध अनुसार निर्देशन दिइन्छ, जुन पेशागत मर्यादाको खिल्ली हो।”

    यो अवस्थाका कारण दर्जनौं कर्मचारीहरूले बैंक छाडिसकेका छन् भने केहीले राजीनामा दिनको तयारी गरिरहेका छन्। संस्थागत वातावरण प्रतिकूल बनेको भन्दै धेरै कर्मचारी मानसिक स्वास्थ्यसम्बन्धी समस्या भोग्न थालेको परिवारका सदस्यहरूको भनाइ छ।

    यस विषयमा प्रतिक्रिया लिन सहायक सीइओ अर्जुनराज खनियालाई सम्पर्क गर्दा उनले कुनै प्रतिक्रिया दिन मानेनन्। सुमित गिरीसँग सम्पर्क प्रयास गरिएको भए पनि सम्भव भएन।

    एनआईसी एशिया बैंकजस्तो ठूला वाणिज्य बैंकमा यस्तो अमानवीय व्यवहार, कार्यस्थल आतंक र नियामक निकायको निर्देशनको उपेक्षा हुनु गम्भीर चिन्ताको विषय हो। कर्मचारीहरूको मनोबल खस्किने मात्र होइन, बैंकको दीर्घकालीन साख र उत्पादकत्वमा समेत यसको असर पर्ने देखिन्छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images