काठमाडौं– लगातार बढेको ८ कारोबार दिनपछि आज आइतबार सेयर बजार घटेको छ ।
अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से १८.४४ अंक घटेको हो ।
सो गिरावटपछि नेप्से २९६४ अंकमा कायम भएको छ ।
कारोबार सुरु भएपछि बढेको बजार १२ : ५० बजे ३ हजार १२ अंकसम्म पुग्यो ।
त्यसपछि बिक्री चाप बढ्यो ।
गत वर्ष साउन ३० गते कारोबार बन्द हुँदा नेप्से परिसूचक ३ हजार अंकमै पुगेको थियो ।
अहिले सोही अंकलाई बजारले प्रतिरोधका रुपमा सामना गरेको छ ।
४ वर्षअघि २०७८ भदौ २ गते नेप्से परिसूचक ३१९८ अंक पुगेको रेकर्ड छ ।
आइतबार कारोबार रकम पनि उल्लेख्य बढेको छ ।
गत बिहीबार १८ अर्ब ४९ करोडको कारोबार भएकोमा आज २६ अर्ब ५७ करोडको भयो ।
यो कारोबार रकम गत वर्षको भदौ २ यताकै उच्च हो । सो दिन २८ अर्ब ८३ करोडको कारोबार भएको थियो ।
गत वर्षको साउन ३० गते हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको कारोबार रेकर्ड छ ।
आजको कारोबारमा पनि हाइड्रोपावर समूह सबैभन्दा अगाडि छ ।
सो समूहको मात्रै ११ अर्ब ६२ करोडको कारोबार भयो ।
कुल कारोबारमा हाइड्रोपावर समूहको हिस्सा ४३ प्रतिशत हो ।
विकास बैंक, माइक्रोफाइनान्स र उत्पादन समूको कारोबार २–२ अर्बमाथिको भयो ।
आज ६३ कम्पनीको मूल्य बढ्दा १८६ को घट्यो ।
धेरैजसो समूह घटे पनि केही बढे ।
विकास बैंक १.२३, उत्पादन तथा प्रशोधन १.०८ तथा व्यापार १.४४ प्रतिशत बढे ।
माइक्रोफाइनान्स १ अंकमुनि हरियो रह्यो ।
फाइनान्स सबैभन्दा धेरै १.९९ प्रतिशत घट्यो ।
बैंकिङ ०.७१, होटल तथा पर्यटन १.७९, हाइड्रोपावर १.०९, लगानी १.६६, जीवन बीमा १.३५, निर्जीवन बीमा ०.६७ तथा अन्य ०.८६ प्रतिशत घटे ।
तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।
१० प्रतिशत बढेका कम्पनीमा समता घरेलु लघुवित्त, ट्रेड टावर र सान्भी इनर्जी छन् ।
हालै सूचीकृत ट्रेड टावरको मूल्य प्रतिकित्ता ७१३ रुपैयाँ पुगेको छ भने सान्भीको ६३५.६० रुपैयाँ पुगेको छ ।
त्यस्तै लुम्बिनी विकास बैंकको ८.४७, ग्रिन भेन्चर्सको ६.२९, सगरमाथा जलविद्युत कम्पनीको ६ प्रतिशत मूल्य बढ्यो ।
नारायणी डेभलपमेन्ट बैंकको ६.३४, राप्ती हाइड्रोको ४.९९, बुटवल पावरको ४.११ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा शिवम् सिमेन्ट, ङादी ग्रुप, नेपाल पुनर्बीमा, कालिका पावर र ग्रिन भेन्चर्स छन् ।


विश्व खबर 




















