काठमाडौं– नेकपा (माओवादी केन्द्र) भित्रको आन्तरिक विवाद स्थायी समिति बैठकको पूर्वसन्ध्यामा सतहमै देखिएको छ ।
साउन १६ गतेका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको स्थायी समिति बैठकमा पार्टीभित्रको अन्तर्विरोध, नेतृत्वको कार्यशैली र नीति सम्वन्धी बहस तीव्र हुने देखिन्छ ।
अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा बीचको असहमति खुलेर सार्वजनिक भएपछि पार्टी नेताहरू एकअर्कामाथि आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।
उपमहासचिव शर्माले अघिल्लो वर्ष प्रस्तुत १४ बुँदे प्रस्ताव कार्यान्वयन नभएको भन्दै नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् ।
पुष्पलाल स्मृति दिवसको अवसरमा शर्माले पार्टीभित्र सम्पत्ति छानबिन र सुशासनको माग गर्दै, नयाँ पुस्ताको नेतृत्व आवश्यक भएको बताए ।
जवाफमा प्रचण्डले शर्मालाई लक्षित गर्दै भिन्न मतप्रति आफू उदार भएको स्वीकारे तर अनुशासन उल्लंघन गर्न छुट नहुने चेतावनी दिए ।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीलाई नबुझाई भेटेको विषय पनि स्थायी समितिमा उठ्ने भएको छ ।
सचिव राम कार्की र उपमहासचिव हरिबोल गजुरेलले नेतृत्व र वैचारिक स्पष्टताको अभावमा पार्टीभित्र असन्तुष्टि बढेको स्वीकार गरे ।
राजनीतिक विश्लेषक झलक सुवेदीले शक्ति निर्माण रिस वा आवेगले नभई जनताको आर्थिक, सामाजिक र सांस्कृतिक एजेन्डाबाट मात्रै सम्भव हुने सुझाव दिएका छन् ।
शर्मा भने नेतृत्व परिवर्तनको माग गर्दै नयाँ पुस्ताबाट कम्युनिस्ट पार्टीको पुनर्गठन आवश्यक रहेको अडानमा अडिएका छन् ।
माओवादी केन्द्रभित्रको यो अन्तर्विरोधले स्थायी समिति बैठकलाई निर्णायक बनाउने अपेक्षा गरिएको छ ।






















