images
images
  • एउटै पासोमा झुन्डिएकी दिदीबहिनीको मृत अवस्था अझैँ रहस्यमय, हत्या कि आत्महत्या ?

    काठमाडौं– भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–८ बोडे सिन्टीटारस्थित चक्रधर प्रजापतिको जस्ताको टहरोभित्र बिहीबार बिहान दुई किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेपछि त्यसको रहस्य पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको छ ।

    मृत भेटिएका किशोरीहरू १६ वर्षीया मेनुका कँडेल र १३ वर्षीया सिर्जना कँडेल भएको खुलेको छ ।

    उनीहरू हालै भारतको मुम्बईस्थित मीर भाइन्दर क्षेत्रबाट नेपाल आएका थिए ।

    भक्तपुर प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डीराज नेउपानेका अनुसार दुवै दिदीबहिनी दुई हप्ता अघि मुम्बईबाट नेपाल आएर बसेको प्रारम्भिक जानकारी प्राप्त भएको हो ।

    तर, उनीहरू किन नेपाल आए ? परिवारलाई जानकारी नदिई कसरी आइपुगे ? भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन ।

    प्रहरीका अनुसार मेनुका र सिर्जनाका परिवार सुर्खेतको पञ्चपुरी नगरपालिका–८ का स्थायी बासिन्दा हुन् ।

    हाल उनीहरू मुम्बईमा बस्दै आएका थिए ।

    मृतक किशोरीहरूका बुवाआमा बासुदेव कँडेल र उमा कँडेल अहिले नेपाल आउँदै छन् ।

    मेनुका र सिर्जना मुम्बईमा एक होटलमा काम गरिरहेका थिए भन्ने अभिभावकको भनाइ प्रहरीलाई प्राप्त भएको छ ।

    त्यस होटलमा सीसीटीभी पनि नरहेको खुलेको छ ।

    प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको छ भने शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पठाइएको छ ।

    प्रारम्भिक अनुसन्धानमा कुनै स्पष्ट कारण खुलेको छैन, तर आत्महत्या वा अन्य कुनै आपराधिक पाटोको सम्भावनालाई दृष्टिमा राखेर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images