images
images
  • विद्या क्याम्प, कांग्रेस इतर र माओवादीसँग मिलेर नयाँ सरकार गठन गर्न शेखरको दौडधुप तीव्र

    काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइराला हालको सरकारप्रति असन्तुष्ट छन् ।

    उनी सत्तारूढ गठबन्धनभित्र र बाहिरका नेताहरूसँग भेटघाट गर्दै सक्रिय राजनीतिमा देखिएका छन् ।

    नेकपा (एमाले) राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि शेखरले आफ्ना निकट सांसदहरूसँग याक एण्ड यती होटलमा बैठक गरेका थिए ।

    शेखरको यो सक्रियताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत तरंगित बनाएको छ ।

    ओलीले ४ साउनको मन्त्रिपरिषद बैठकमै कोइरालाको गतिविधि उल्लेख गर्दै संसदमा गणितीय खेल खेल्न खोजिएको आरोप लगाएका थिए ।

    शेखर सरकारको कार्यशैलीप्रति लगातार असन्तुष्ट छन् ।

    उनका अनुसार वर्तमान सरकारले जनअपेक्षा पूरा गर्न असफल भएको छ ।

    उनका निकट नेताहरू भन्छन्, ‘शेखर ओली नेतृत्वको विकल्प खोज्नतिर लागिसकेका छन् ।’

    गठबन्धन सरकार बनाउने क्रममा शेखरले कांग्रेस नेतृत्वमा सरकारको वकालत गरेका थिए, तर सरकार एमाले अध्यक्ष ओलीको नेतृत्वमा बनेपछि उनी असन्तुष्ट बने ।

    अहिले गठबन्धन परिवर्तनको प्रयासमा छन् र नयाँ गठबन्धन कांग्रेस नेतृत्वमा हुनेतर्फ धकेल्ने रणनीतिमा छन् ।

    आफू निकट सांसदहरूसँग बारम्बार छलफल गरिरहेका शेखरले संसदीय दलमा आफ्नो पक्ष बलियो रहेको दाबी गरेका छन् ।

    सांसद सुनील शर्माका अनुसार शेखर पक्षमा ६० प्रतिशत सांसदको समर्थन छ ।

    तर, संसदीय दलको नेता फेर्न तत्काल सम्भव नदेखिएको नेताहरूको भनाइ छ ।

    गगन थापासँगको सहकार्य खस्किएको अवस्थामा शेखर एकल रणनीतिमा अघि बढिरहेका छन् ।

    शेखरले स्पष्ट पारेका छन् कि कांग्रेसको प्रमुख प्रतिस्पर्धी एमाले नै हो र सो बोध राख्दै प्रतिस्पर्धीसँग दूरी कायम गर्नुपर्ने पक्षमा छन् ।

    आन्तरिक गुटबन्दीबीच नयाँ शक्ति सन्तुलन निर्माण गर्न खोजिरहेका शेखर आगामी महाधिवेशनलाई ध्यानमा राख्दै पार्टी नेतृत्वका लागि तयारी गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images