काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको भिन्न मतप्रति आफू अलिकति बढी नै सहिष्णु भएको स्वीकार गरेका छन् ।
पार्टीभित्र असहमतिहरू राख्ने नेताहरूमाथि कहिल्यै कारबाही नगरेको उल्लेख गर्दै उनले आफ्नो उदार प्रवृत्ति कमजोरी हुन सक्ने संकेत गरे ।
काठमाडौंमा आयोजित नेकपा संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीभित्र देखिएका असहमति र विवादका प्रसंग उठाए ।
‘मैले कसैलाई कारबाही गरिनँ,’ उनले भने, ‘कमरेड मोहन वैद्य किरण, बाबुराम भट्टराई, रामबहादुर थापा ‘बादल’ लगायत थुप्रै नेताहरूले भिन्न मत राखे, तर म पार्टीबाट निकाल्ने ठाउँमा पुगेनँ ।’
उनले हालै पार्टीभित्र आलोचनामा उत्रिएका उपमहासचिव जनार्दन शर्मातर्फ संकेत गर्दै थपे, ‘कतिपय साथीहरूलाई लाग्छ । कारबाही नगरेर के गर्नु ? तर, म सधैं छलफलको वातावरण बनाउँदै आएको छु । अहिले पनि केही साथीहरू सिँगौरी खेल्न पाए हुन्थ्यो जस्तो गरिरहनुभएको छ । उहाँहरूलाई प्रशस्त मौका दिएको छु । अस्ती मात्रै डेढ महिना देशैभरि लिएर हिँडेँ ।’
प्रचण्डले आफू ३६ वर्षदेखि नेतृत्वमा रहँदै आएको स्मरण गर्दै नेताहरूबीच देखिने असहजता र नेतृत्व हस्तान्तरणबारे पनि खुलेर बोले ।
‘म ३६ वर्षदेखि नेतृत्वमा छु,’ उनले भने, ‘एकथरीलाई लाग्न सक्छ, यो मान्छे कहिल्यै हट्दैन । तर, कहिलेकाहीँ राति सोच्ने गर्छु, साच्चै छोड्नुपर्छ कि ? फेरि अर्कोतिर सोच्दा लाग्छ, समयमै नछाड्दा पार्टी बिग्रिने त होइन ?’
कार्यक्रममा सहभागी कार्यकर्ताहरूले प्रचण्डको भनाइमा ताली बजाएर समर्थन जनाएका थिए ।
उनको यो टिप्पणीले माओवादी केन्द्रभित्र जारी आन्तरिक बहस र नेतृत्वमाथिको प्रश्नलाई थप चासोको विषय बनाएको छ ।






















