काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक विधेयकमार्फत कर छुटको व्यवस्था गरेपछि बोटलर्स नेपाल तराई लिमिटेडले ७८ करोड रुपैयाँ मात्र पुँजीगत लाभकर तिरेको छ। कम्पनीमाथि कुल कर दायित्व अढाई अर्ब रुपैयाँ नजिक पुगिसकेको अवस्थामा, पौडेलले आर्थिक ऐनको दफा ३० अनुसार कर, व्याज र शुल्क मिनाहा गर्ने प्रावधान ल्याएपछि करिब १ अर्ब ७२ करोड रुपैयाँ मिनाहा भएको हो।
बोटलर्स नेपाल लिमिटेडको ९० प्रतिशत स्वामित्वमा रहेको बोटलर्स तराई, कोकाकोलाको नेपालस्थित मुख्य उत्पादन केन्द्र हो। सन् २०१५ मा यसको स्वामित्व अफसोर कम्पनी युरोपियन रिफ्रेसमेन्टमार्फत बोटलिङ इन्भेस्टमेन्ट ग्रुप (BIG) ले लिएको थियो। स्वामित्व हेरफेरमा कर दायित्वसम्बन्धी तीनवटा मूल्यांकनमा कोकाकोलामाथि १५ अर्ब ८० करोड रुपैयाँको पुँजीगत लाभकर दायित्व देखिएको छ।
बोटलर्स तराईको कर छुटले राज्यकोषमा ठुलो रकम गुमेको आलोचना भइरहेको छ। कर प्रशासनले यसअघि बक्यौता कर निर्धारण गरिसकेको थियो। यद्यपि आर्थिक ऐनमा गरिएको व्यवस्थाले कम्पनीले असार मसान्तभित्र ७८ करोड मात्रै तिरेर बाँकी कर मिनाहा गराउन सफल भएको हो।


विश्व खबर 


















