काठमाडौं– नेकपा (एमाले) को हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अन्तिम समयमा मौन बसेका छन् ।
बैठकको सुरूवातमा बोल्ने चाहना देखाए पनि उनले न त धारणा राखे, न त नोट अफ डिसेन्ट लेखे ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी राजनीतिमा पुनरागमन रोक्ने निर्णय उक्त बैठकले गरेको हो ।
उपाध्यक्षहरू सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले यसविरुद्ध कडा असहमति जनाए पनि पोखरेल मौन रहे ।
पाण्डे र ज्ञवालीले लिखित असहमति समेत दर्ता गरेका थिए ।
भण्डारीको पुनरागमनका पक्षमा खुलेर लागेका पोखरेल यसअघि सार्वजनिक रूपमा अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गरिसकेका थिए ।
तर, केन्द्रीय कमिटी बैठकमा भने नबोलेको भन्दै उनको मौनता आलोचनाको विषय बनेको छ ।
केही नेताहरूका अनुसार बैठकमा ओली पक्षको हावी र असहिष्णु वातावरणले पोखरेलजस्ता नेताहरूलाई बोल्न अवरोध भएको हो ।
स्रोतका अनुसार पोखरेलले बैठक अघि ओलीसँग भेट गरेर वरिष्ठ उपाध्यक्ष पद हटाइएकोमा गुनासो गरेका थिए ।
ओलीले उमेरहदको आधारमा उक्त निर्णय गरिएको जवाफ दिएका थिए ।
यद्यपि, पोखरेलले न त खुला विरोध गरे न त सार्वजनिक समर्थन जनाए ।
अब पूर्वराष्ट्रपति भण्डारीलाई उनले साथ दिने हुन् वा होइनन् भन्ने प्रश्न खुलै छ ।
बैठकमा बोल्न नपाएका स्थायी कमिटी सदस्य कर्ण थापाले भने सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन् ।
एमाले केन्द्रीय कमिटीको निर्णयसँगै पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको बाटो बन्द भएको देखिन्छ ।
भण्डारीले यसबारे हालसम्म प्रतिक्रिया दिएकी छैनन् ।






















